Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

कुलमान घिसिङप्रति बढ्दो विश्वास, कुलमानले आग्रह गरेपछि अवरोध हट्यो, बिजुली खेर जाने चिन्ता पनि सकियो



काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकाले कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । उपमहानगरपालिकाले गएको मंसिरदेखि गर्दै आएको अवरोध हटेपछि विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको कामले तिव्रता पाएको छ ।

आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए। १७ वटा टावर निर्माणमा अवरोध थियो ।

समस्या समाधानका लागि १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले समेत पहल गरेका थिए। उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका संघ तथा प्रदेशका सांसद लगायतसँग पटकपटक छलफल उनले पनि गरेका थिए । मुख्यमन्त्री राईले प्रसारण लाइन रहने क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका थिए।

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गएको मंसिर २८ गते प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को विष्णुपादुकामा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थललाई नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई भन्दै आएकी थिइन्। त्यसपछि उनको दबाबले आयोजनाको निर्माण रोकिएको थियो ।

प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो कुनै प्रसारण लाइनलाई कुनै असर नपर्ने, प्रसारण लाईन निर्माणमा ढिलाई भएमा अहिले निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने अनुमानित ५ सय ५० मेगावाट विद्युत खेर जाने, यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवर्द्धकलाई क्षतिपूर्ति लगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अस्वीकार गर्दै आएका थिए ।

उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रलाई लाईन चेक सर्भे क्रममा संबोधन गरिसकिएको र सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राख्दै आएका थिए । उनले यस्तो अवरोध गर्दा मुलुकलाई ठुलो घाटा लाग्ने भन्दै अवरोध कार्यबाट पछि हट्न आग्रह गरेका थिए । उनको आग्रहलाई समर्थन गर्दै जनदबाब बढेपछि स्थानीय प्रतिनिधी र दलका नेता पछि हट्न वाध्य भएका हुन् ।

गएको पुसमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक र एक जना प्रतिनिधि थिए । कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन दिएको थियो । तर, यसमा राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गरेका थिएनन् ।

प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ । अब यही रुट हुँदै प्रसारण लाइनको निर्माण हुनेछ ।

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गर्न लागिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता पीपीए गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने छ ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९ मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए। अब केही दिनमै तार तान्न पनि सुरु गरिने उनले बताए । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ ।

दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२० मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ताप्लेजुङ ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२० मा सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्