Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

सरकारी ५० र निजी २७ गरी ७७ वटा आयोजनाको लागि ३० खर्बभन्दा बढी खोजिने



काठमाडौं । विदेशी लगानीका लागि सरकारले निकै महत्व दिएको लगानी सम्मेलन शुक्रवारदेखि सुरु हुँदैछ । कृषि, ऊर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाउन लगानी सम्मेलन हुन लागेको हो । लगानी अपेक्षा गरिएका सरकारी ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा आयोजनाको अनुमानित लागत ३० खर्बभन्दा बढी छ ।

अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनको तयारी पूरा भएको बताए । लगानी बोर्डका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका ६ सयभन्दा बढी सहभागी हुने उनले बताए ।

सम्मेलनमा लगानी जुटाउन ७७ आयोजना ‘सोकेस’ गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । सम्मेलनको तयारी धेरै कानुन सुधार र संशोधन गरिसकेकाले लगानीकर्ता आकर्षित हुने सरकारको विश्वास छ । मंगलबार पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले लाभांश लैजान सहज पारिएको र कर प्रणाली वैज्ञानिक बनाइएको दाबी गरे ।

सरकारले सम्मेलनलाई लक्ष्य गर्दै सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा बनेको विधेयक र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक व्यवस्थापिका संसद्बाट पारित गरेको छ । यी कानुनमा विदेशी लगानीकर्तालाई प्रक्रियागत सहजता, लाभांश लैजान सहजीकरण गर्ने आकर्षक प्रावधान छन् । सरकारले सुधारेका कानुनबारे लगानीकर्तालाई जानकारी गराइने अर्थमन्त्री खतिवडाले बताए । वैदेशिक लगानी सहजीकरण गर्न सरकारले अन्य कानुन पनि सुधार गर्ने तयारीमा छ ।

भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्