
काठमाडौं । दार्चुला हुँदै चीन जोड्ने सडक निमार्णको जिम्मा नेपाली सेनालाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ । दार्चुला खलंगातिंकर सडकका नामले चिनिने सडकको निर्माण जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट संघीय संसद प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर उनीहरुले चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिदिन अनुरोध गरेका हुन। संघीय संसद प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले विस्फोटक पदार्थको अभाव र ठेकेदारको ढिलासुस्तीले सडक निर्माण कार्यमा निकै ढिलाइ भएकाले आगामी आर्थिक बर्षबाट दार्चुला तिंकर सडक निमार्णको जिम्मा नेपाली सेनालाई दिन प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गरिएको बताए ।
नेपाली र भारतीय हिन्दुधर्मावलम्बीको पवित्र धार्मिक धाम मानसरोवर जोड्ने र चीनसँगको व्यापारिक दृष्टिले पनि महत्वपूर्ण सडक भएकाले यसको निर्माण छिटो होस् भनेर सेनालाई दिन माग गरिएको सांसद ठगुन्नाले बताए। खलंगा तिंकर सडकखण्डको ४० किलोमिटर ट्य्राक खोलिएको छ। करिब १४० किलोमिटर सडकको बाँकी ट्य्राक खोल्ने काम नै बाँकी छ।
त्यस्तै दार्चुलाकै दोस्रो ठुलो शहर गोकुलेश्वरमा रहेको विमानस्थल पुनः संचालन गर्न पनि उनीहरुले प्रधानमन्त्री समक्ष अनुरोध गरेका छन् । क्षतिग्रस्त अवस्थामा रहेको उक्त विमानस्थल अहिले गौचरनमा परिणत भएको छ ।
विगतका वर्षमा दार्चुला जोड्ने सडक नहुँदा त्यहाँ दैनिक जसो जहाज गइराख्थ्यो । तर पछिल्ला केही बर्ष यता जिल्लामै रहेको एक मात्र ठुलो विमानस्थल नै बन्द छ ।