Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

यस वर्षको माध्यमिक शिक्षा एसइई परीक्षा आजदेखि सुरू



काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा एसइई परीक्षा आजदेखि सुरू भएको छ । आज पहिलो दिन आज विद्यार्थीले अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।

परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।

संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा हुन लागेको हो । मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्