Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

प्रहरीले घेरा हालेर नेत्रविक्रम नेतृत्वको मध्य क्षेत्रीय कमाण्ड इन्चार्ज ओलीलाई समात्यो



काभ्रे । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति अबेर प्रहरीले काभ्रेको खानीखोला गाँउपालिका ७ बाट ओलीसहित अन्य ८ जना पक्राउ गरेको हो ।

गत मंगलबार रोशी २ काफलडाँडाको प्रहरी अपरेशनमा भने नेता ओली भाग्न सफल भएका थिए। काभ्रे डाँडापारी ओलीको नेतृत्वमा बैठक सञ्चालन भइरहेको सूचनाको आधारमा काभ्रे प्रहरीले अनुसन्धान थालेको थियो।

सोही सुचनाको आधारमा शुक्रबार बिहान ८ बजे प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाको नेतृत्वमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सन्तोष केसीसमेत गरी ४५ जनाको टोली खानीखोला परिचालन भएको थियो।

प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोको थप मद्दतपछि डिएसपीको नेतृत्वमा १० जनाको टोली पठाएको थियो।
सादा पोशाक समेतमा खटिएका प्रहरीले विभिन्न नाका कब्जा गरेर बा १७ प ४७९३ नम्बरको स्कोर्पियोमा फापरबारीतर्फ जाँदै गर्दा वडा नम्बर ७ को बोरनवेशी भन्ने स्थानमा उनीहरु पक्राउ परेका हुन।

नेता ओलीसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र चालक धर्मराज वहाक पक्राउ परेका छन्। गाडीमा एउटा पेस्तोल, डेटोनेटर र केही विस्फोटक पदार्थसमेत बरामद भएको प्रहरीको दाबी छ ।
ओली विप्लव नेतृत्वको माओवादीको हाइ कमाण्डका ५ सदस्य मध्येका एक हुन्। पक्राउ परेका विजय श्रेष्ठ प्रज्वल चन्द समूहको सैन्य विभाग प्रमुख रहेको खुलेको छ।

उनीहरु चढेको स्कारपियो चन्द्रागिरी नगरपालिका स्थायी घर भएका सिभिल इञ्जिनियरको हो। ३० हजार भाडा लिनेमा उनले गाडी आफैले चलाउँदै आएका थिए।

ललितपुरको नख्खुमा १ जनाको ज्यान जाने गरी भएको विस्फोटमा आफ्नो संलग्नता स्वीकार गर्दै नेकपा माओवादीको मध्य क्षेत्रीय कमाण्डले विज्ञप्ती जारी गरेको थियो। चन्द समूहका हिंसात्मक गतिविधि माथि प्रतिबन्ध घोषणा गरेको सरकारले उसका नेता कार्यकर्ताका गतिविधि निगरानी गर्दै पक्राउ गर्न थालेको हो।

प्रतिक्रिया दिनुहोस्