
अछाम। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म सिधा हवाई सेवा सञ्चालनमा आएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको सिधा उडान सञ्चालनमा ल्याएको हो।
सुदूरपश्चिमको दुर्गम यस क्षेत्रका यात्रुको सहजताका लागि धनगढीदेखि साँफेबगरका लागि उडान शुरु गरिएको समिट एयरले जनाएको छ ।
समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने छ । यात्रुको चापलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्ने तयारी समिट एयरेको छ ।
धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३५० रुपैयाँ भाडादर कायम गरिएको छ। धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुनेछ।
यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो।