Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

कवाड व्यवसाय समाजको गम्भीर ध्यानाकर्षण



चन्द्रागिरी नगरपालिकाले २०७७ चैत १५ गते कवाडी कर उठाउने सन्दर्भममा सार्वजनिक सुचना जारी गर्दै गुर्जुधारामा ढाँट राखेर कर उठाउन सुरु गरेको विषयमा कवाड व्यवसाय समाजको गम्भीर ध्यानाकर्षण भएको छ।


सर्वोच्च अदालतले दिएको आदेशको विपरित गएर कर उठाउन सुरु गरेको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं। चन्द्रागिरी नगरपालिका थानकोट विरुद्ध २०७५ असोज २१ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो। अदालतले ७५ असोज २२ गते अन्तरिम आदेश जारी गरेको थियो। नगरपालिका भित्र बाटो प्रयोग गरेवापत निवेदकहरुबाट लिने गरेको कर नलिनु, लिन नलगाउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको जानकारी गराउँदछौं।

२०७५ कात्तिक ११ गते सर्वोच्च अदालतले अघिल्लो अन्तरिम आदेशलाई निरन्तरता दिन पुन आदेश गरेको थियो। जसमा सर्वोच्च अदालतमा परेको ०७५ –धय –०२९१ उत्प्रेषण निवेदन उपर निर्णय गर्नुपर्ने भएकाले अन्तरिम आदेशलाई निरन्तरता दिने बताइएको थियो।
यो आदेशसँगै चन्द्रागिरी नगरपालिकाले कर लिन छाडेको थियो। एक पटक जारी भएको अन्तरिम आदेश उक्त विषयमा सोही अदालतले अर्को आदेश जारी नगर्दासम्मको लागि कायम रहने कानुनी व्यवस्था हुँदा हुँदै पनि अदालतको आदेश विपरित अहिले चन्द्रागिरी नगरपालिकाले कर उठाउनु कानुनको उल्लंघन गरेको देखिन्छ।

उक्त मुद्धा हालसम्म सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले दुई वर्ष अगाडि जारी गरेको अन्तरिम आदेश अनुसार चन्द्रागिरी नगरपालिकाले कवाड व्यवसायहरुले सामान बिक्रीको लागि नगरपालिकाको बाटो प्रयोग गरेवापत कर लिन पाउने कानुनी अवस्था नरहेको अवस्थामा नगरपालिकाले गरिरहेको कामको यस कवाड व्यवसाय समाजले आपत्ति प्रकट गर्दछ।

कवाड बोक्ने गाडी बीच बाटोमै रोकी अत्यधिक पैसा उठाइरहेको विषयले हामीलाई गम्भीर बनाएको छ। कवाड व्यवसायीहरुले हरेक महिना आन्तरिक राजस्व कार्यालयमा १३ प्रतिशत भ्याट र प्रत्येक वर्ष ३० प्रतिशत आयकर पनि बुझाउँदै आइरहेका छौं।
कवाड संकलन केन्द्रले स्थानीय निकायलाई समेत नियमअनुसार कर तिर्दे आएका र घर बहाल कर पनि सरकारलाई बुझाउँदै आएको सर्वविदितै छ।

यस बाहेक पनि दोहोरो रुपमा कर उठाउन थालेपछि यसबाट कवाड व्यवसायीहरु मारमा परेको जानकारी गराउँदछौं।
अदालतको अन्तिम फैसला नआउँदासम्म यसअघिको अन्तरिम आदेशलाई पालना गर्दै चन्द्रागिरी नगरपालिकाले संकलन गरिरहेको कर तत्काल बन्द गर्न कवाड व्यवसाय समाज माग गर्दछ।

अदालतको आदेश पालनाका लागि नगरपालिकालाई जवाफदेही बनाउने विषयमा सञ्चारमाध्यमहरुले पनि भूमिका खेलिदिन आग्रह गर्दछौं।
अध्यक्ष
रामकेवल शाह रौनियार

प्रतिक्रिया दिनुहोस्