Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

जनतासामु जाने सीके राउतको यस्ता छन १० रणनीति, १० लाख सदस्यता बाँड्ने योजना



काठमाडौं। खुल्ला राजनीति प्रतिस्पर्धामा आएसँगै डाक्टर सीके राउतले नयाँ रणनीति लिएका छन् । सरकारसँग हालै ११ बुँदे सहमति गरेर मूलधारको संवैधानिक राजनीतिमा आएका डा सीके राउतले आफ्नै अध्यक्षतामा ‘जनमत पार्टी’ घोषणा गरेका छन् ।

यसअघि स्वतन्त्र मधेस गठबन्धनको नामबाट गतिविधि गर्दै आएका डा राउतले नयाँ पार्टी गठनसँगै रणनीति फेर्ने तयारी गरेका हुन् ।

साविक स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं ७ मा यही चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक केन्द्रीय भेलाले पार्टीको नाम फेर्ने र निर्वाचन आयोगमा समेत दर्ता गर्ने निर्णय गरेको छ । वैठकले कानुनी ढ‌ंगबाटै आफ्ना एजेन्डा जनतासामु लैजाने निर्णय गरेको हो ।

जनमत पार्टी गठनसँगै डा राउतको रणनीति सरकारलाई अझै आफु अनुकुल बनाउने र आफ्ना एजेन्डाका पक्षमा ‘जनमत जुटाउन’ जनता समक्ष जाने रहेको छ । ‘जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता’ भेलाले जाहेर गरेको छ ।

पार्टीलाई पुनर्गठन गरिए पनि पार्टीका एजेण्डा भने नफेरिएको बुझिन्छ । यसअघि गठबन्धन नेपालमा कतै पनि दर्ता थिएन । सरकारले यसलाई राष्ट्रिय अखण्डता विरुद्धको पृथकतावादी समूहको रुपमा लिएको थियो । तर सरकारसँगको तामझामको सहमतिपछि वैधानिकता प्राप्त गर्न मात्र पार्टीको नाम फेरिएको र संगठन विस्तार गर्दै रणनीतिक तवरले जनतासामु आफ्ना एजेन्डा लैजाने डा राउतको आगामी प्रयास हुने आँकलनहरु भइरहेका छन् ।

बल सरकारको कोर्टमा

उक्त समूहको नयाँ भेलाले आफ्नो तर्फबाट सहमतिको पालना गरेको जनाउँदै अब बल सरकारको कोर्टमा रहेको निष्कर्ष निकालेको छ । सरकारसँगको सहमतिमा हालसम्म स्वतन्त्र मधेश गठबन्धनका तत्कालीन नेता कार्यकर्ता विरुद्धका सबैखाले मुद्दा फिर्ता लिइने कुुरा उल्लेख थियो ।
नवगठित जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले भने, ‘हामीले हाम्रो तर्फबाट सहमति पालना गरिसक्यौँ । सरकारको तर्फबाट सहमतिको इमान्दार रुपले पालना होस् ।’

सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ सो भेलाले चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समिति बनाई सो कार्यको जिम्मेवारी सुम्पेको छ ।
साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमतिअनुसार क्षतिपूर्ति तथा परिवारका एकजनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मा दिइएको छ ।

‘सहमति एेतिहासिक’

सरकारसँगको ११ बुँदे सहमतिलाई ‘ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि’ भएको सो भेलाले घोषणा गरको छ । साथै भेलाले स्वतन्त्र मधेश गठबन्धनले ‘मधेश स्वराज आन्दोलन’मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आमजनताको योगदानको उच्चतम कदर सहमतिलाई स्वागत गरेको जनाएको छ ।

तर पार्टीको नाम फेरे पनि सो समूहले एजेन्डा चाहिँ फरे नफेरेको प्रष्ट पारेको छैन । स्वतन्त्र मधेसको नारा त्यागेको कुनै घोषणा गरेको छैन । बरु सहमतिको बुँदा नं दुईमा उल्लेखित ‘जनअभिमत’ शब्दलाई आफ्नो पक्षमा व्याख्या गर्दै जनमत जुटाउन जनतामा जाने निर्णय गरिएको छ ।

जनमत पार्टीले आफ्नो ठोस विचारधारा तय गरेको छैन भने कुनै पनि अन्य पार्टीलाई आफ्ना शत्रु शक्तिको रुपमा पनि लिएको छैन । उसले जुनसुकै पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गर्न पाउने व्यवस्था गर्नुका साथै संगठन विस्तारको रणनीति समेत अवलम्बन गरेको छ । पार्टी विस्तारका क्रममा अन्य पार्टीका नेताहरुसँग छलफल तथा पार्टीहरुसँग सहकार्यका लागि समिति गठन गरिने जनाइएको छ ।

चुनावमा जाने, १० लाख सदस्यता बाँड्ने

संगठन विस्तारसँगै जनमत पार्टीले आगामी चुनावहरुमा भाग लिने संकेत गरेको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र त्यसपछि जनतासामु जाने उनले नीति छ ।

पार्टीले मधेशी जनताको हकहित र अधिकारका लागि चुनावलाई उपयोग गर्दै जनताकै मतको सम्मान गर्ने नीति लिएको जनाइएको छ । उसले आगामी चुनावअघिसम्म १० लाख सदस्यता वितरण गर्ने रणनीति लिएको केन्द्रीय सदस्य खानले जानकारी दिए ।

पार्टीको पहिचान

जनमत पार्टीको केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गर्दै पार्टीको पहिचान निम्नानुसार रहने जनाएको छ(

पार्टीको नाम( ‘जनमत पार्टी’
पार्टीको झण्डा( क्रमशस् रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का ९स्ट्रीप० बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल
पार्टीको लोगो( अष्टदलको छेउमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने
पार्टीको छाप( अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने
पार्टीको चुनावचिन्ह( ‘अष्टदल’ नै राखिने, निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने
को(को छन् केन्द्रिय समितिमा रु

भेलाले ३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समिति गठन गरेको छ । जसमा डा। सिके राउत राष्ट्रिय अध्यक्ष मानिएको छ ।

यसैगरी केन्द्रीय सदस्यहरुमा कैलाश महतो महोत्तरी, राज कुमार यादव सिरहा, अब्दुल खान बर्दिया, चन्दन सिंह महोत्तरी, बबिता ईसर सप्तरी, कौशिला महतो झापा, परमेश्वर मुर्मु मोरंग, सीताराम पंडित सुन्सरी, सुरेन्द्र शर्मा सप्तरी, सतिला यादव सिरहा, इन्द्रजीत यादव धनुषा, संजय यादव महोत्तरी, नरेश कुशवाहा सर्लाही, वीरेन्द्र साह रौतहट, दिनेश यादव बारा, संजय साह पर्सा, ध्रुव गौड नवलपरासी, भोपेन्द्र यादव रुपन्देही, हकिकुल्ला खान कपिलवस्तु, राधा यादव दाङ, इरफान अहमद शेष बाँके, महेन्द्र प्रसाद चौधरी कैलाली, दुर्गा चौहान नवलपरासी र आशा मेहता सुनसरी चयन भएका छन् ।

बाँकी १० जना सदस्यहरुमध्ये महिला, दलित, जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी समावेशी तवरले मनोनित गर्ने जिम्मा अध्यक्ष राउतलाई दिइएको छ ।

साविकको स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारका बीच गएको फागुन २४ गते ११ बुँदे सहमति भएको थियो । सो सहमतिमा डा राउत समूहले नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता स्वीकार गर्ने उल्लेख भए पनि स्वतन्त्र मधेशका एजेन्डा त्याग गर्नेबारे भने कुनै कुरा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्