Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

प्रदेश २ सरकार गरिब दलितको आवासप्रति उदासिन




जनकपुर व्युरो । घरवार विहीनको संख्या अन्य प्रदेशको तुलनामा अत्यधिक रहेको प्रदेश-२ मा प्रदेश सरकार घरबारविहीन असहाय गरिब दलितको घर निर्माणमा पुरै उदासिन देखिएको छ । गरीब दलितहरुको आवास निर्माणको लागि प्रदेश सरकारबाट कुनै रकम छूट्याउन त परै जाओस संघीय सरकारबाट प्राप्त रकम समेत उपयोग गर्न सकेको छैन । जनता आवास कार्यक्रमको नाममा संघीय सरकारबाट बर्षेनी प्रदेश नं. २ लाई प्राप्त अर्व भन्दा बढी बजेट रकम प्रदेश सरकारको बदनियतपूर्ण रवैयाका कारण फ्रिज हुने गरेको छ ।

आवास मानव जीवनका लागि आधारभूत आवश्यकता हो । नेपालको संविधानले पनि आवासको अधिकारलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । यति हुँदाहुँदै पनि प्रदेश सरकार घरवारविहीन परिवारको आवास निर्माणप्रति गम्भीर नहुनु दुःखद हो ।

मधेश केन्द्रित दलहरुको निहित स्वार्थ पुरा नहुँदा गरिब मधेशी जनता पाल मुनि बाच्न वाध्य छन् । गरिब आवास कार्यक्रम असफल हुनुमा प्रदेश प्रमुख लालबाबु राउत दोषी रहेको मधेशका सामाजिक अभियान्ताको दाबी छ । राउत पनि स्वार्थ केन्द्रवाट प्रभावित भएको उनीहरुको जिकिर छ ।

जुनसुकै विषयमा पनि आफ्नो कमिकमजोरी एवं अकर्मण्यता ढाकछोप गर्न सधैं केवल संघीय सरकार माथि दोषारोपण मात्र गर्ने प्रदेश २ सरकारको रवैयामा व्यापक सुधार आवश्यक छ । केन्द्रले आवश्यक/धेरै बजेट नै दिएन भनेर केवल खेदो मात्र खन्नुको सट्टा प्राप्त बजेट रकमको सही एवं समुचित सदुपयोग गर्नतर्फ प्रदेश सरकार अग्रसर हुन आवश्यक देखिन्छ ।

यसरी प्रदेशवासीहरुको आवास निर्माणका लागि आउने बजेट रकम प्रत्येक वर्ष फ्रिज हुनु प्रदेश सरकारको चरम लापरवाही एवं गैरजिम्मेवारीपनको पराकाष्ठा हो । तसर्थ, यस बदनियतपूर्ण, दुखद एवं गम्भीर आपत्तिजनक विषयप्रति सबै सरोकारवालाहरुको समयमैं ध्यान केन्द्रित हुन जरूरी छ ।

क्र.सं. आ.व. बजेट रकम वितिय प्रगति

१. ०७३/७४। ७० करोड़ २१ लाख
२. ०७४/७५ ७३ करोड़ ४९ लाख
३. ०७५/७६ १ अर्ब ३९ करोड़। १५ %
४. ०७६/७७ ८१ करोड़ ३४ लाख ३०%
५. ०७७/७८ १ अर्व ३८ करोड़ ०%

प्रतिक्रिया दिनुहोस्