Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

हामीसँग हतियार छैन, विप्लबका नेता भन्छन, हतियार कहाँ छ देखाइदिनु



काठमाडौं । सरकारले आफनो पार्टीलाई प्रतिबन्ध गरेपनि विप्लव समूहको नेकपाले तत्काल प्रतिरोधमा नउत्रने रणनीति बनाएको छ ।

पार्टी गतिविधिमाथि सरकारले अङ्कुस लगाउँदा जनस्तरबाट सहानुभूति मिलेको र सरकारसँग असन्तुष्ट पक्षले प्रतिबन्धप्रति विरोध जनाएकाले आफूहरूलाई ‘राजनीतिक आड’ मिलेको निष्कर्ष निकाल्दै विप्लव समूहले शान्तिपूर्ण राजनीतिकै बाटो अङ्गिकार गर्ने जनाएको हो ।

विप्लव समूहका पोलिटब्युरो सदस्य ओम पुनले सरकारले नेता–कार्यकर्तामाथि धरपकड, गिरफ्तार र मुठभेडमै उत्रने तयारी गरेको भए पनि आफूहरूले शान्तिपूर्ण तवरले प्रतिवाद गर्ने जानकारी दिए । “सरकारले प्रतिबन्ध लगाए पनि हाम्रो राजनीतिक र संगठनात्मक अभियान निरन्तर अगाडि बढ्छ, राज्यले युद्धको घोषणा गरिहाले पनि हामी युद्धको घोषणा नगर्ने भन्ने नै छ । दमनलाई प्रतिवाद गर्दै जान्छौँ,” उनले भने ।

यता, सरकारले ३५ दिनभित्र हतियार बुझाउन विप्लव समूहलाई आग्रह गरेको छ । तर, विप्लव समूहका अर्का पोलिट्ब्युरो सदस्य मोहन कार्की आफूहरूसँग कुनै हातहतियार नभएको दाबी गर्छन् । “एकातिर प्रतिबन्ध लगाउने, अर्कातिर वार्ताका लागि रातो कार्पेट बिछ्याएको छु भन्ने, अर्कोतिर हतियार बुझाउने हदम्याद तोक्ने, यी सबै दमनका हत्कण्डा हुन्, कलाविहीन नाटक हुन्,” उनले अर्थ्याए ।

उनले सरकाले हतियार बुझाउन आदेश दिएको आफूहरूले थाहा पाए पनि कुनै हातहतियार नभएको आफूहरू निःशस्त्र रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्