
एजेन्सी – एक साताअघि मात्रै लोनमा जिनोआबाट एसी मिलान पुगेका फरवार्ड पियाटिकको दुई गोल मद्दतमा एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा मिलानले नेपोलीलाई २–० ले पराजित गर्दै कोपा इटालियाको अन्तिम चारमा पुग्न सफल भएको हो । मिलानको जितमा एकसाताअघि लोनमा मिलान आएका फरवार्ड पियाटिकले उच्च प्रदर्शन गरे । उनले पहिलो हाफमा दुई गोल गरे । फरवार्ड गोन्जलो हिगुआइन लोनमा इंग्लिस क्लब चेल्सी पुगेपछि पियाटिक मिलान पुगेका थिए ।

खेलको ११औं मिनेटमा पियाटिकले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । २७औं मिनेटमा पियाटिकले नै गोल गर्दै मिलानको अग्रता दोब्बर बनायो । दुई गोलले पछि परेपछि नेपोलीले खेलमा मिलानलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो । यता, मिलानले भने उक्त अग्रता खेलको अन्तिम समयसम्म जोगाइराख्न सफल भयो ।