Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

‘म जान्न ममि भनेर भनिरहँदा पनि व्युझिँदा तिमिलाई पाउन सक्दिन छोरी’



आज जेठ ११ गते २०५८ हामी भिषण मोर्चामा थियौ । सबै नीजी सम्पति र परिवार केहि होईन भन्दै राज्यसत्ता परिवर्तनको अभियानमा थियौ । सिन्धुलीका अन्य नेताहरुको तुलनामा हामी र हाम्रो परिवार निकै नै राज्य सत्ताको निशानामा थियौ । मैले यत्तिका वर्षहरुसम्म तिम्र‍ो बारेमा दुई शब्द लेख्ने आँट गर्न सकेकी थिइन । कहाँबाट र कत्ताबाट शब्द चयन गर्नेसम्म पनि मेलो पाउनसम्म सकिरहेकी थिईन ।

आज तिमिलाई सम्झदै छु । दु:खका साथ भन्नुपर्छ । यत्रो वलिदानपछि प्राप्त यो सत्तामा तिम्रो कुनै पनि ठाउँमा केही स्थान छैन । न त विद्यार्थी आन्दोलनका अगुवाहरुले तिम्रो सम्झनामा तिम्रो तस्बिर राखेर दुई थुंगाफुल र दुई शब्द श्रद्धाञ्जलीका शब्दहरु व्यक्त गर्छन् न त महिला मुक्तिका ठुला ठुला भाषण गर्नेहरुको लिष्टमा तिमी पर्छौ ।

हिजो हामी सबैको भाषण गर्ने लिष्टमा वलिदानका चर्को स्वरहरु र वलिदानको अर्थको बारेमा व्याख्या गर्दै ती अभियानमा लामबद्द सबैलाई पटक पटक मर्न सिकाउने अभियान्ताहरुले आज बाँचेर आएकाहरुका लागि बाँच्न सिकाउने एउटा पनि उच्चरण गर्न सक्दैनन् ।

वलिदान राष्ट्रका लागि भनेर लाग्नेहरुको लागि निकै नै गंभिर र सोचनिय बिषय बनाएको छ । हिजोका ती सँगै युद्धमा लडेका एउटै रुखको छहारी मुनि एउटा पातलो सल ओढेर एउटै सपना आधा आधा देख्नेहरु पनि समय सँगसँगै नीजी सम्पत्ती र परिवार भन्दा माथि उठेर निर्णय गर्ने ठाउँमा पुग्न सकिरहेका छैनन् ।

विडम्बना पुर्वक भन्नुपर्छ शहिदहरु पनि कुन पक्ष वा गुटको हो भन्नेमा कित्ता बन्दि हुन पुगेका छौ । सक्नेले राष्ट्रको बजेट लगेर मुर्ति बनाएका छन् । अर्को गुटको भनेपछि त्यहि मुर्ति बनाउन पनि अस्विकार गरेका छन् । कोहि बिपिको डाँड‍ो बोकेर हिडेका छन् । कोहि आन्दोलनको दौरानमा शहिदै नभएका ठाउँहरु बोकेर हिडेका छन् ।

कोहि ज्वरो आएर मरेका बाउको शहिदको नाममा नाम भजाएर पैसा लिएर बसेका छन् । यो सबै हेर्दा लाग्छ आज शहिदको कोटामा पर्न र पार्न पनि शक्तिशाली गुटमा तिम्रा आफन्तहरु लाग्नुपर्ने विडम्बना बनेको छ ।

तिमिसंगै पढ्ने उमेरका तिम्रा ती दौतरीहरु आज अफिसर बनेका छन् । तिम्रा ती वलिदानका अर्थ सिकाउनेहरुलाई फनफनि यो सत्तामा घुमाई दिएका छन् । सायद तिमी अहिले त्यहि स्थानमा नभए पनि मेरो जिन्दगीको एउटा अभिन्न अंग बन्ने थियौ ।

अरु मादक पदार्थ सेवन गरि मर्दा महान बन्छन यो देशमा । तर म केहो म भोलि के बन्छु मेरो बाटो कुन हो भनेर आफ्नो जिन्दगी को परिभाषा नवुझ्दै तिम्रा ती तोते बोलिबाट वयस्क भएको स्वर परिवर्तन हुन नपाउँदै तिम्रा बा आमा माओवादी भएकै कारणले तिमी एउटा कोपिला फुल बनेर फक्रिन नपाउँदै तिम्रा ती कोपिला अवस्था बडेमनको माओवादीको नाममा निमोठिन्छ चर्को स्वरले आतंककारीको मृत्यु भनेर समाचार भन्नेहरु पनि तिमिले रगत बगाएको व्यवस्थामा त्यहि  कुर्सीमा अटाएका छन् ।

तिम्रो त्यो शाहादतले निकै नै आतंकित बनाएको थियो । धैरै छोरीहरुले अकालमा गोली खाएर मर्नु परेको थिएन । १० औं वसन्त पार गरी ११ औं वसन्तमा पाईला टेकेको मात्र ४१ दिन भएको थियो । माफ गर छोरी तिमिलाई हामिले रक्षा गर्न सकेनौ । घर आँगनमा साथी संगिसँग खेलिरहेको अवस्थामा तत्कालीन शाही नेपाली नामक सेनाले सबै गाउँलेलाई घरबाटबाहिर ननिस्कन आदेश दिँदै घरछेउमा गोली हानि निर्ममतापुर्क हत्या गरेको दिन ।

मेरो काख रित्तिएको दिन । मलाई माफ गर छोरी त्यत्ति वेला हामी पनि तिम्रो साथमा थिएनौ । रक्षा गर्न पनि सकेनौ हार्दिक श्रद्धाञ्जली छोरी । तिमिलाई हामीले सदासदा सम्झिरहेका छौ । सपनीमा आएर म पनि हजुर र बहिनीसंगै बस्छु म पनि पढ्छु म जान्न मामि भनेर भनिरहँदा पनि केवल ब्युझदा तिमिलाई पाउन सक्दिन छोरी ।

हार्दिक श्रद्धाञ्जली 💕

निरु दर्लामी
नेतृ, नेकपा

प्रतिक्रिया दिनुहोस्