Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

यसकारण यो सांसद अपहरण थिएन, कुरो खास थियो यस्तो



काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण त्रासको महामारीको सुरुमा नै दल विभाजन सम्वन्धी अध्यादेश ल्याए । मन्त्रीपरिषदको निर्णय लगत्तै राष्ट्रपति कार्यालयबाट तत्काल स्विकृत पनि भयो । कोरोना सन्त्रासको यस्तो गंभिर घडिमा दल विभाजन सम्वन्धी अध्यादेश ? नेकपा भित्र खैलाबैला मच्चियो । नेकपाका शिर्ष नेताविच गुटगत भेलाको दौडधुरु । आरोप प्रत्यारोप । प्रधानमन्त्री ओलीकै विकल्पको अध्याय समेत खोलियो । छिनका छिन गुट परिवर्तन, नेता तानातान ।

एकाएक अध्यादेश आएपछि नेकपाका शिर्ष नेता झस्किनु पर्ने स्वभाविक नै थियो । किनकी पार्टीको कुनै तहमा पत्तै थिएन । नेकपाभित्र चरम गुटगतको राजनीति निकै पेचिलो बन्दै गएको थियो । यो बेला दल विभाजन अध्यादेशले राजनीतिक सन्त्रास दिनु ठिकै नै थियो । प्रधानमन्त्री ओली बाहेकका नेताको तत्कालको निष्कर्ष बन्यो, ल पक्कै अब आफनै पार्टी नेकपा फुटाउने गंभिर षडयन्त्र । तर,  प्रधानमन्त्री ओलीको दल विभाजन अध्यादेश ल्याउनुको खास रहस्य थियो उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमका अन्तुष्ट सांसदलाई दलबाट बाहिरिन सहज होस ।

उपेन्द्र यादवको संघिय समाजवादी फोरम पार्टीमा डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी मिसिएपछि त्यहाँ दुई खेमा प्रष्ट थिए । खासमा सरकारबाट तत्काल बाहिरिनु पर्छ भन्ने बाबुराम पक्षधरको विपक्षमा थिए उनीहरु । बाबुरामको सिधा विपक्षमा थिए, रेणु यादव र मोहमद ईस्तियाक राई । त्यस समुहमा बाबुराम आएपछि उपेन्द्र यादवले आफनो कुरा सुन्नै छोडेको भन्ने असन्तुष्टि उनीहरुमा निकै बढदै गएको थियो । मन्त्री नपाएको झोकमा राजेन्द्र श्रेष्ठ पनि अशोक राईलाई उचालिरहेका थिए । रेणु र मोहमद ईस्तियाकहरुको समुह पार्टी सरकारमा नै बस्नु पर्ने अडानमा थियो । अर्को तर्फ रेणु यादवलाई भने पार्टीमा सरिता गिरीको बढदो दबदबा पटक्कै मन परिरहेको थिएन ।

यहि विचमा रेणुको अर्को दाउ थियो, कि मन्त्री बन्ने नभए संघिय संसदको उपसभामुख । तत्काल दुवै पद आफनो समुहले नपाउने भएपछि बाबुराम पक्ष भने उपेन्द्रलाई सरकारबाट हट्नु पर्छ भन्दै चर्को दबाब दिँदै आएका थिए । यता, रेणु र मोहमद ईस्तियाकको समुह पनि बलियो बन्दै गएको थियो । किनकी क्याविनेट फेरवदल हुने संकेत पाएका समाजवादी फोरमका सांसदहरुलाई मन्त्री बन्ने इच्छा निकै जागेको थियो । तर, के गर्ने भन्ने अन्यौलमा थिए । दल फुटाउन गणतिय संख्या नपुग्ने संसदका लागि कानुन तगारो । उनीहरु साच्चै अप्ठारोमा थिए । त्यहि विचमा रेणु, मोहमद ईस्तियाकको समुह बन्यो । अध्यादेशको संकेत पाएपछि उपेन्द्रका असन्तुष्ट सांसदले ठाने यो नै हो, बाहिरिने उपयुक्त बाटो ।

सरकारमा साथै हुँदा पनि मोहमद ईस्तियाक उनले समालेको मन्त्रालयको हरेक आयोजनाका बारेमा प्रधानमन्त्री ओलीसँग परामर्श गर्थे र  मात्रै अघि बढथे । किनकी मन्त्रीपरिषद बैठकमा ईस्तियाकको कुरो ओलीले खासै क्रस गर्दैन थिए । त्यो कुरा उपेन्द्रलाई त्यत्ति चित्त बुझेको थिएन । र, पछिल्लो समय मोहमद ईस्तियाकसँग उपेन्द्रको परिवारको खासै राम्रो सम्वन्ध थिएन पनि । त्यसकारण उपेन्द्र ईस्तियाकमाथि आशंकित थिए ।

मधेश केन्द्रित दलप्रति अलि कठोर नै छन ओली । रेणु र मोहमद ईस्तियाकको समुह संसदिय दलमा बलियो बन्दै गएपछि उपेन्दलाई पन्छाएर ओलीले यो समुहलाई च्याप्न थाले । त्यसैको उपज पछि यो समुह नै पार्टी विभाजनकै नजिक पुग्यो । अध्यादेशको अध्यायको पनि सुरु भयो यहि बाट ।

सरकारबाट पार्टी बाहिँरिदाका दिन स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव उपचारका क्रममा नर्भिक हस्पिटलमा थिए । त्यो खबर नपाएकोमा समेत उनी रिसाएका थिए । उपेन्द्रको मन्त्रालय हेरफेरमा यादवको राज्यमन्त्री पद नै खुस्किएको थियो । उपेन्द्रको वेवास्था अनि मन्त्री पद खुस्किएको झोक, त्यहि बाट जागेको थियो उनलाई क्याबिनेट मन्त्री बन्ने तिव्र महत्वकांक्षा । पेशाले चिकित्सक सुरेन्द्रलाई पनि कुनै पनि हालतमा क्याबिनेट मन्त्री बन्ने इच्छा थियो । खासमा पार्टीमा बाबुराम निकट भएपनि क्याबिनेट मन्त्री बन्ने मौका पाए उनी क्याम्प फेर्ने उचित मौकामा थिए ।

यहि विचमा रेणु, मोहमद ईस्तियाक समुहले पार्टी विभाजनका लागि अत्यन्तै गोप्य रुपमा सांसदहरुचिमा छलफल थालिसकेका थिए । पहिलो चरणमा नै मोहमद ईस्तियाक, प्रदिप यादव, उमाशंकर अरगरिया, डाक्टर सुरेन्द्र यादवविचमा दरिलो सहमति भइसकेको थियो । पार्टी विभाजन गर्ने सरकारमा जाने र उपेन्द्रलाई देखाइदिने । तर, मोहमद ईस्तियाक र सुरेन्द्रविच एउटै मन्त्रालयको दाउपेज चलिरहेको थियो । त्यो मन्त्रालय थियो स्वास्थ्य मन्त्रालय । पेशागत रुपमा पनि आफुलाई यो मन्त्रालय उपयुक्त हुने सुरेन्द्रको भनाई थियो । किनकी उनी स्वास्थ्य राज्यमन्त्री भइसकेका मान्छे । मोहमद ईस्तियाक शहरी विकास या भौतिकमा गइदिए ठिक  हुने सम्म उनले बताउने गरेको अर्का सांसद प्रदिप यादव नै बताउँछन ।

सुरेन्द्र यादव स्वास्थ्य मन्त्रालय नै आफुलाई चाहिने अडानमा अडिक थिए । र, लकडाउनअघिसम्म यो रस्साकस्सी चलिरहेको थियो । यी सवै छलफल मोहमद ईस्तियाकको बालुवाटारस्थित निवासमा हुन्थ्यो । यताको छलफलको जिम्मा भने पहिलो चरणमा पुर्वमन्त्री गोकुल बास्कोटाले पाएका थिए । बास्कोटा सत्तरी करोड भ्रष्टाचारको आरोपमा विवादित भएपछि नेकपा सांसदद्धय भक्तपुरका सांसद महेश बस्नेत र तनहुँका सांसद सानु श्रेष्ठले पाएका हुन । राजनीतिक दाउपेज यस्तै त हो नी भनेर बस्नेत र सानुले यो जिम्मेवारी सहज रुपमा लिए । र, बढे अघि । त्यसपछि बस्नेतसँग कुरा हुन थाल्यो ।

रेणु र मोहमद ईस्तियाक समुहको समाजवादी फोरमका असन्तुष्ट सांसद पार्टीमा बहुमत पुराउन नसके पनि संसदिय दलमा भएपनि कोरम पुराएर पार्टी फुटाउनेमा भने सवै एकमत थिए । र, कुरो निकै अघि बढयो पनि । राज्यमन्त्री सम्म पनि पाइहालिन्छ की भन्ने लालसामा यो समुहमा समाजवादीका अन्य सांसद रेणुका गुरुङ, कलुदेवी विश्वकर्मा, रामबाबु कुमार यादव रुही नाज लगायत थपिए । कुनै पनि ठेक्का नसकेर कालोसुचीमा परेका पप्पु कन्ट्रक्सनका ठेकेदार सांसद हरिनारायण रौनियारलाई पनि कसरी ल्याउने भन्ने यो समुहले छलफल गरेको थियो । विवादित सांसद भएका कारण रौनियारको विषय त्यत्तिकै थाँती राखियो ।

एघार जनासँग छलफल भएपनि आठ जना सांसद हस्ताक्षरका लागि तयार थिए । तर, कोरोनाका कारण लकडाउन भएपछि सांसदहरु आआफनो जिल्लामा रोकिएकाले केही समस्यामा पारे । त्यसपछि यो समुहसँगको छलफलपछि तराई झर्यो सांसद महेश बस्नेतको टोली । त्यता हल्ला पनि नहुने साटक सुटुक कुरा मिलाउन भन्दै उनीहरु उत्तै पुगे । राजनीतिक कुरा न हो के नै हुन्छ र भनेर बस्नेत भने यो कोर्स पुरा गर्न कटिवद्ध भएर लागेका थिए ।

किनकी यो प्रकृया तत्काल सक्नु थियो त्यो पनि यहि मौकामा । राजनीतिक दलदेखि मिडियासम्मले पनि पत्तै नपाउनेमा वालुवाटार ढुक्क थियो । यता, वालुवाटारस्थित मोहमद ईस्तियाकको निवासमा हुने छलफलमा सुरेन्द्र यादव नियमित उपस्थित हुने भएकाले पनि त्यहि भएर यो समुह एघार जनाको कुरा चलेपनि नौ जना नभए आठ जनाले पार्टी विभाजनमा हस्ताक्षरमा गर्नेमा निश्चित थियो ।

मोहमद ईस्तियाक सँग पनि सुरेन्द्रले पार्टी विभाजनका वारेमा वारम्वार छलफल नगरेका होइन । छलफलमा सधै सहभागि हुने भएकाले यो समुह सुरेन्द्रले पनि पार्टी विभाजनमा हस्ताक्षर गर्नेमा ढुक्क थियो । प्रदिप, उमाशंकरसँग हुने वारम्वारको कुराकानीमा पनि उनले साथ दिने प्रतिवद्धता जनाएका थिए । त्यसकारण पनि यो समुह शतप्रतिशत विश्वस्त भएको थियो । तर, यता सुरेन्द्र भने क्याविनेट मन्त्री त्यसमा पनि स्वास्थ्य नै पाउने भए यता, नत्र उतै भन्ने मनस्थितीमा थिए । त्यसकारण उनी पहिले मन्त्रालय नै टुग्याउनु पर्ने जोडमा थिए । तर, रेणु, मोहमद ईस्तियाक भने पहिले पार्टी विभाजनको टुंगो लगाउने अनि मात्र मन्त्रालयमा छलफल गर्ने योजनामा थिए ।

पार्टी विभाजन सम्वन्धी अध्यादेश आइसक्यो मन्त्रालयको कुनै निश्चित छैन भनेपछि सुरेन्द्र हच्किए । शशिकान्त अग्रवालको मेरिट होटलको त्यो मध्यरातको छलफलमा समेत जुन मुख्य कुरो छिनोफानो नभएपछि उनले निर्णय बदले । त्यसपछि उनी विहानै होटलबाट बाहिरिने योजनासहित बाबुरामलाई मलाई अपहरण गरियो भन्दै कोठाको रुम नम्वर समेत खुलाएर म्यासेज पठाइदिए । सुरेन्द्रको दाउ थियो, ताक परे तिवारी नत्र गोतामे । उनले दुई अस्त्र सँगै फयालेका थिए ।

भ्रष्टाचारको आरोपमा मन्त्री पद गुमेपछि बास्कोटाका ठाउँमा महेश,सानु, पूर्वआइजीपी सर्वेन्द्र खनाल सहभागि भएका हुन । छलफल कै सिलसिलामा नेकपाका यी सांसदसहित पूर्वआइजीपीसहितको समुह महोत्तरी पुगेको हो । वालुवाटार निकट वालुव नेकपाका नेता आउने भएपछि सुरेन्द्रले मिठोमसिनो नै खाना तयार गरे । उनको घरपर हल्ला हुने हो की भनेर सवैलाई समेत सहज हुने गरि बर्दिवास कुरोकानीका लागि लोकेसन तोकियो । जब बर्दिवासको छलफल सकारात्मक भयो, तब सुरेन्द्र काठमाण्डौं आउन राजी भए । यो विचमा सुरेन्द्र, प्रदिप, उमाशंकर विचमा टेलिफोनमा कुराकानी भइरहेको थियो ।

सुरेन्द्रलाई जसरी पनि स्वास्थ्य मन्त्री बन्ने इच्छा तिव्र थियो । महेशको समुहसँग सिन्धुलीको विपी राजमार्गको यात्रा भरि सुरेन्द्रले पार्टी विभाजनको हस्ताक्षरअघि नै मन्त्रालय टुग्याउनु पर्नेमा जोडबल गरेका थिए । छलफल सकारात्क भएपछि महोत्तरीवाट काठमाण्डौं हिडेका सुरेन्द्रले म काठमाण्डौ आउँदै छु भनेर बाबुराम भट्टराईलाई भने जानकारी गराएका थिए । तर, यो भित्री खास कुरो बाबुरामलाई पनि थाहा थिएन । जब पार्टी फुटको गाइगुइ हल्ला चल्यो चतुर बाबुरामले पक्कै पनि अब पार्टी विभाजन हुने भयो भनेर विश्वदिप पाण्डेमार्फत सांसद अपहरण हल्ला चलाइदिए ।

किनकी अध्यादेश उपेन्द्रको समाजवादी फोरम फुटाउनकै लागि भन्ने चर्चा सुरु भइसकेको थियो । यसको सुइको प्रधानमन्त्री निवासवाटै खुस्केको थियो । मन्त्री बन्ने योजनासहित महेश, सानु लगायतको समुहसँग सँगै आएका सुरेन्द्र मेरिट होटलको विहानको छलफलमा समेत मन्त्रीको टुंगो नलागेपछि दोधारमा परे अनि बाबुरामलाई होटलको कोठा नम्वरसहित म्यासेज पठाइदिए । त्यसपछि माहोल अर्कै बन्यो । सवेरै बाबुरामले पनि आफना विश्वास पात्र गंगानारायण श्रेष्ठलाई होटलको गेट कुर्न पठाए ।

प्रधानमन्त्रीलाई भेटपछि सवै माग पुरा हुने आश्वासन पाएपनि उनी ढुक्क बनिसकेका थिएनन । किनकी दल गर्दाका लागि सवै प्रकृया निकै अघि बढिसकेको थियो । भोली पल्ट हस्ताक्षर गरेर निर्वाचन आयोगमा दर्ता गर्न मात्र बाँकी थियो । यता, राजपा र समाजवादी पार्टी एकताको प्रकृया पनि निकै अघि बढिसकेको सुचना पाएसँगै सुरेन्द्र झनै पछि हटे । मेरिट होटलमा यदि स्वास्थ्य मन्त्री पाउँने पक्का भएको भए सायद आज संघिय समाजवादी फुटिसकेको हुन्थ्यो । अनि नयाँ दलका रुपमा यी सांसद मन्त्री भइसकेका हुन्थ्ये ।

त्यसकारण मन्त्रीको टुंगो समयमा नै नहुँदा समाजवादी पनि विभाजनवाट जोगियो, त्यसको उल्टो महेशको समुह सांसद अपहरणको आरोपमा मुछियो। त्यसैले यो अपहरण नभई विशुद्ध पदिय भागवण्डा नमिल्दा विष्फोट भएको प्रतिकृया मात्रै हो । त्यसकारण यो सांसद अपहरण होइन ।

प्रतिक्रिया दिनुहोस्