
काठमाडौं । सरकारले नेपालमा नै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानीका लागि बाटो खोलिदिएको छ । लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोट्रेक्सले नेपालमा ल्याउन लागेको १० अर्ब बढीको लगानी स्वीकृत गरेको हो ।
कोरियन कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव बोर्ड समक्ष पेश गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि नेपालमा गोल्छा समूहको हुलास मोटर्सले चारपांग्रे सवारीको एसेम्बलिङ गरेको थियो । हाल सो कम्पनीबाट गाडीको उत्पादन बन्द भइसकेको छ । यही कम्पनीले बनाएको मुस्ताङ ब्राण्डको सो गाडी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेका थिए । जस्को सकारात्मक चर्चा भएको थियो ।
त्यसअघि कम्पनीले ‘शेर्पा’ नामको गाडी नेपालमै एसेम्बल गरेको थियो । तर, यूरो ३ को मापदण्ड लागू भए लगत्तै तयारीका लागि एक वर्षको समय माग्दा सरकारले नदिएपछि कम्पनी बन्द भएको थियो ।
नेपालमा हाल दुई पांग्रे गोल्छा समूहकै अगुवाईमा बजाजका केही बाइकहरु एसेम्बलिङ हुने गरेका छन् ।