
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेको ६ वटा खानेपानी योजनामा चरम भ्रष्टाचार हुँदा समेत सरोकार निकाय मौन देखिएको छ । स्थानीय विचौलिया महेशलाल प्रधानले आयोजनामा बदमासी गरेर चरम भ्रष्टाचार गरेको सप्रमाण भेटिँदा समेत उनलाई कार्बाही भएको छैन् ।
चौतर्फी दबाबपछि जिल्ला प्रशासन कार्यालय र अख्तियारबाट कार्य मूल्यांकनका लागि स्थलगत अनुगमन टोली आउने पत्तो पाएपछि महेशलाल प्रधानले अनुगमन टोलीको आँखामा छारो हाल्ने कुप्रयास गरेका छन् ।
भ्रष्टाचारको मुद्धामा कार्बाही हुने निश्चित भएपछि कार्यवहाक वडा अध्यक्ष बेदबहादुर कार्कीलाई प्रयोग गरेर अनुगमन टोली आउनुअघि नै मापदण्ड विपरित महेशलालले हतार हतार खानेपानी टयांकीमा पानी हाल्ने योजना बनाएको समेत खुल्न आएको छ । वर्षौसम्म रोकिएको कमसल आयोजनाको पानी टयांकीमा पानी हाल्न मजदूर र केही सहयोगी परिचालन गरेको स्थानीयले बताए ।
जिल्ला खानेपानी कार्यालय रामेछापको अभिलेखमा भने १ करोड ५२ लाखको सो योजना सम्पन्न भएर खानेपानी सञ्चालनमा रहेको उल्लेख छ । तर, आयोजनामा चरम भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि अनुगमन टोली पुग्दा पानी टयांकीमा पानी हालिएको थिएन । त्यसपछि केही जनप्रतिनिधिको मिलेमतोमा महेशलालले चरम भ्रष्टाचार गरेको तथ्य खुलासा भएको हो ।
योजनाका अध्यक्ष बुद्धिमान श्रेष्ठलाई भने महेशलालले डेढ करोड रुपैयाँ भन्दा माथिको आयोजनालाई २७ लाख मात्रै भन्दै झुक्याउँदै आएका थिए । त्यसैले अख्तियारको कार्बाहीबाट जोगिन लकडाउनको मौका छोपी महेशलालले सिंगटी खानेपानी आयोजनाको पाइप जवरजस्ती प्रयोग गरि टयांकीमा पानी झार्ने योजना बनाइरहेको स्थानीयले बताए ।
उजुरी परेको योजनामा लागत अनुसार काम नभएकाले प्राविधिक मुल्यांकन नभएसम्म काम रोक्न स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रशासनबाट काम रोक्न पत्रचार भएपनि महेशलालले कार्यबाहक अध्यक्ष कार्कीलाई अघि सारी काम थालेका हुन् । प्रशासनले सो वारेमा जानकारी लिँदा समेत महेशलाल प्रधानले आफुलाई कामको विषयमा केही थाहा नभएको र कार्यवाहक वडा अध्यक्ष कार्कीले पानीको हाहाकार भएकाले काम गरेको भन्दै झुट बोलेका थिए ।
बजार खानेपानीका अध्यक्ष गौतम श्रेष्ठले भने बजारमा पानीको हाहाकारको अवस्था नरहेको र उजुरी परेको खानेपानी योजनामा लकडाउनको बेला केहि ब्यक्तिले आफूखुसी काम गरेको दाबी गरे । हामीले तरकारी बारीमा पानी हाल्न मात्र रोकेको हो, टाइमटेवल अनुसार पानी छाडिएको छ, उनले भने ।
कतैवाट परिचालित भएर कुनै अदृश्य स्वर्थ पूरा गर्न जनप्रतिनिधि वडा सदस्य बेदबहादुर कार्कीले झुट बोलेको भए मलाई थाहा छैन, तर पानीको हाहाकार भएको भन्ने सत्य होइन, तपाईहरूले स्थानीयसँग वास्तविकता बुझ्दा हुन्छ, उनले भने । वडा अध्यक्ष शेखर श्रेष्ठसँग जानकारी लिदा आफू लकडाउनका कारण सदरमुकाम मन्थलीमा रहेको र छानबिनको प्रकृयामा वडाको जिम्मामा रहेको सिंगटी खानेपानी योजनाको पाईप प्रयोग गरि मुद्दा परेको ठोसे खानेपानी योजनाको काम गर्ने विषयमा आफूसँग कुनै समन्वय र जानकारी नभएको बताए ।
स्थानीय डबलबहादुर श्रेष्ठले भने ५ लाख बजेट पनि निकासा भएको सुनिएको छ, अहिले उनीहरूले कार्यवाहक वडा अध्यक्षको मिलेमतोमा हाल प्रयोग नगर्नु भनेर जिल्ला प्रशासनबाट छानविनमा प्रमाण लागि वडाको जिम्मामा राखेको पाइप लगेर काम गर्न थालेका छन् । सो पाइप सिंगटी खानेपानीको भएको र उपभोक्ता समितिका ब्यत्तिहरूले लागत भन्दा बढी पाइप ल्याएर बेच्न लागेपछि स्थानीयले रोकेका थिए ।
पछि छानविन नसकिँदासम्म वडाको जिम्मा रहने गरि जिल्ला प्रशासनको टोलीले राख्न आदेश दिएको थियो । अहिले त्यही पाइप प्रयोग गरेर ठोसे खानेपानी आयोजनाका विचौलिया महेशलालले जवरजस्ती मजदुरलाई काम गर्न लगाएको उनले जानकारी दिए ।
रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेमा, लिसे, ठोसे, एकामफेदी, गोब्रेटार र सिंगटी लगायत ६ वटा खानेपानी योजना आफुले ल्याएको भन्दै महेशलाल प्रधानले उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई चेकमा हस्ताक्षर गर्न लगाएर भुक्तानी लिई तीन वर्षसम्म एक सय पचास भन्दा बढी मजदुरलाई समेत पारिश्रमिक नदिएर योजना अलपत्र पारेपछि गत पुसमा महेशलालविरूद्ध जिल्ला प्रशासन कार्यालयमा स्थानीय र मजदुरले उजुरी दिएका थिए ।
उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी मजदुरलाई पारिश्रमिक दिन निर्देशन दिएका थिए । ठुला सञ्चार माध्यममा समेत यो खबर महत्वका साथ प्रसारण भएपछि केहिलाई सबै र केही मजदुरलाई शिक्षक आशाकाजी श्रेष्ठ र महेशलालले आधा पारिश्रमिक दिएका थिए ।
त्यस्तै लकडाउनको समयमा पनि महेशलालको अराजकता र ज्यादतीले हद नाघेको भन्दै स्थानीयले आक्रोष पोखेका छन् । आफुलाई स्थानीय ठुलै नेता बताउने महेशलालले अहिले मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हिड्ने गरेको समेत स्थानीयले बताए । केही दिनअघि घरमा नै गएर एक जना स्थानीयमाथि हातपात समेत गरेका थिए । पछि जाड खाएको वेला होस गुमाएको भन्दै उजुरी नगरी छोडि दिएको ती स्थानीयले बताए । महेशलालले अहिले तासको खाल समेत सुरू गरेका छन् ।
एक साता अघि उनले तास खेलाउँदा त्यो दिन पचास हजारसम्म हारेको स्थनीयले भने । दिनहुँ मापसे गरेर तास खेलाएपछि प्रहरीले निगरानी बढाएर केही ब्यक्तिलाई सचेत गराएर छाडेको थियो । स्थानीय कसैले आफ्नो विरोधमा बोले मेरो राजनीतिक पहुँच छ, म ठेगान लगाई दिन्छु भन्दै महेशलालले धम्क्याउने गरेको स्थानीयको गुनासो छ । उनको पछिल्लो आतंकले गाउँपालिकामा सुरक्षामा समेत खतरा बढे्को स्थानीयको भनाई छ ।
दुई महिना अघि पनि उनै महेशलालले मजदुरी गरेको पैसा माग्न जाँदा स्थानीय श्रीबहादुर बस्नेतमाथि ढुङ्गा प्रहारका साथै हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । पछि उनलाई झिकाएर जिल्ला प्रहरी कार्यालय रामेछापले माफी मगाएर मजदुरी गरेको पैसा दिने सर्तमा छाडिएको थियो ।
तर, बस्नेतले हालसम्म पैसा नपाएको गुनासो गरेका छन् । महेशलाल र कार्यवहाक वडा अध्यक्ष कार्की विरूद्ध मृतक ब्यक्तिको लगत कट्टा नगरी बृद्धा भत्ता लिएको र आफन्तलाई दोहोरा सामाजिक सुरक्षा भत्ता दिएको विषयमा समेत हरिबहादुर कार्कीले उजुरी दिएका छन् । हाल उजुरीमाथि छानविन भईरहेको छ ।