Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

गाइबाच्छाको संरक्षण गरौँ …..



प्रदिप ढकाल ।

हामीले अबका केही दिनभित्रै उपत्यकाभरिका सडकमा बेवारिसे छाडिएका गाई, साँढे, बाच्छा र बाच्छीको उद्धार गर्दैछौँ । आज मिति २०७६ चैत्र २६ गतेबाट भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, एस.पी.सि.ए र असहाय बाच्छाबाच्छी संरक्षण अभियानका साथीहरु सहित सुरु भएको अभियान केहीदिनसम्म निरन्तर चलिरहने छ । आज हामीले ८ वटा बाच्छा, बाच्छीको उद्धार गर्यौँ । यसपाली हामीले सकेसम्म उपत्यकाका सडकमा रहेका सम्पूर्ण बेवारिसे गाई, गोरु र बाच्छाबाच्छीको उद्धार गर्नेछौँ । तर त्यसपछि सडकमा आउन नदिनका लागि आ–आफ्नो तर्फबाट भूमिका निभाउनका लागि सबैसँग हार्दिक अनुरोध गर्न चाहन्छु ।

दूध दिँदासम्म दुहुने खाने, बेच्ने अनि दूध दिनछाडेपछि गाइलाई घरबाट बाहिर धपाउने चलनलाई निरुत्साहित गरौँ । यो दण्डनीय अपराध पनि हो । अझ भयंकर अपराध त भर्खर जन्मेका गाइका बाच्छालाई दूध खान नदिइकन मार्ने अनि खाडलमा गाड्ने सम्म गरेको पाइएको छ । भर्खर जन्मेका बाच्छाबाच्छीलाई घरबाट अलिक पर लगेर बेवारिसे बनाएर छाडिदिने गरेको पाइएको छ । यो पनि जघन्य अपराध हो ।

जनावरसँगको हाम्रो सम्बन्ध हामी मानवले सभ्यताको थालनी गरेदेखि नै सुरु भएको हो । एउटा सानो घाइते कुकुरको छाउरो आफू हिँड्ने बाटोमा देख्दा दया पलाएर आफूसँगै राखेको मानवको हृदयमा दया, माया र करुणा यिनै प्राणीहरुबाट नै फलेफुलेको हो ।

अनि अन्य घरपालुवा प्राणीसँगको मानवको सम्बन्ध साटफेरको सम्बन्ध हो । हामी उनीहरुको स्याहार गर्छौँ त्यसका बदलामा उनीहरुको क्षमता र गुणअनुसारको फाइदा पनि लिन्छौँ । हामीले मानवको गुणअनुसारको प्रेम गर्छौँ, सम्पूर्ण स्याहार गर्छौँ, विरामी हुँदा उपचार गर्छौँ । प्रेम सम्बन्ध जहिले पनि दोहोरो हुन्छ र हुनुपर्दछ ।

आफ्नो फाइदा हुँदासम्म लुटिरहने अनि फाइदा हुन छाडेपछि त्यागिदिने गुण मानवको गुण होइन । सृष्टिका अन्य प्राणीको जीवनको सम्मान गर्न नसक्ने हो भने हामी मानवले आफूलाई चेतनशील प्राणीको लहरमा राख्न सक्दैनौँ ।

अहिले देशभरका सडकहरुमा बेवारिसे गाई, गोरुहरु देखिन्छन् । बाच्छाबाच्छीले दूध खाएपछि अलिकति कम हुन्छ । तर उनीहरुलाई दूध खान नदिई घरबाट लखेटेर मृत्युको मुखमा धकेल्नुले हाम्रो दयनीय सोच र अवस्थालाई प्रमाणित गर्दछ । अझ कतिपय ठाउँमा त बाच्छा÷बाच्छीलाई जंगली जनावरले आहारा बनाओस् भनेर जंगलमा लगेर रुखमा बाँधिदिने गरिन्छ । यो भन्दा अमानवीय व्यवहार अरु केही होला ?

माया, ममतालाई पैसामा मापन गर्न सकिँदैन । मानवीय विवेकलाई पैसाको तराजुमा तौलिन पनि सकिँदैन । एउटा गाईको बाच्छा÷बाच्छीलाई आफ्नो प्राकृतिक अधिकारको दूध खान दिन बञ्चित गरेर उसकी आमाबाट छुट्याई सडकमा लखेटेर कमाएको अलिकति पैसाले हामीलाई पाप नलाग्ला ? यसले हाम्रो अवस्था कति दयनीय र अमानवीय रहेछ भनेर प्रमाणित गर्दछ । त्यो कमाईले हामीलाई अलिकति राहत देला तर त्यसलाई मानवीयताको कसीमा राखेर हेर्दा त्यसले हाम्रो समाज कति क्रुर र अमानवीय बन्दै छ भन्ने पनि इङ्गित गर्दछ । दूध बेचेर रक्सीको बोतल किन्नेको भीड पनि नदेखिएको त कहाँ हो र ?

यी सबै कुराहरु हाम्रो समाज कता गइरहेको छ ? हामी कति विवेकी छौँ ? भन्ने प्रमाणित गर्ने मापक बनेका कुरा हुन् ।

अर्कोतर्फबाट हेर्दा, गाई नेपालको राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावरको रक्षा गर्नु, संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो ।

अब फेरि सडकमा गाई, बाच्छाहरु नआउन् भन्नेमा हामी सबै सचेत हुनुपर्दछ । हामीले उपत्यकाका विभिन्न स्थानमा स्वयंसेवकहरु परिचालन गरेका छौँ । हामीले अहिले गाई फार्म चलाइरहेका व्यक्ति र संस्थाको जानकारी पनि लिइरहेका छौँ । आफ्नो पेशा र व्यवसायलाई जिम्मेवार हिसाबले चलाउनु व्यवसायीको पनि दायित्व हो । स्थानीय निकायसँग समन्वय गरी अब उप्रान्त सडकमा गाईबाच्छा छोड्न नपाउने र कसैले यस्ता कार्य गरेमा कारबाहीको दायरामा ल्याउने गरी सम्बन्धित निकायसँग पनि समन्वय भइरहेको छ ।

यस्ता खालका गैरजिम्मेवार र अमानवीय कार्य गरेको देखेमा सोको सूचना दिई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि गर्दछौँ । हामीले हाम्रो समाजलाई सभ्य र सुसंस्कृत बनाउनुपर्दछ । यसका लागि यो पनि एउटा सकारात्मक प्रयासमा सबैको साथको आशा गर्दछौँ ।

सबैले हातेमालो गरौँ । मानवीयताको राष्ट्रको रुपमा नेपाललाई उभ्याऔँ ।

प्रतिक्रिया दिनुहोस्