Logo
१४ फाल्गुण २०७७
(Friday 26th February 2021)

भोजपुरका किसानको अलैँची यस कारण घरमौ थन्कियो



भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै भोजपुरका अलैँची कृषक निराश बनेका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् ।

मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेको टेम्केमैयुङ गाउँपालिका–४ नागीका कृषक जयकुमार राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अलैँचीबाट विगतमा राम्रो मूल्य पाएपछि हौसिएर धान खेतमा अलैँची लगाएँ तर अहिले बजारमा मूल्य छैन भन्दै ठेकेदारले प्रतिमन २० देखि २५ हजारमा माग्छन्, अब त्यही मूल्यमा दिने हो भने आफ्नो परिश्रम नै उठ्दैन, त्यही भएर मजस्ता यस ठाउँका धेरै कृषकले अहिले पनि अलैँची बिक्री गरेका छैनन् ।”

गाउँका धरै कृषकले आफ्नो सल्लाहानुसार अलैँची लगाएको बताउँदै उहाँले भन्नुभयो, “विगतमा राम्रो आम्दानी हुनेजस्तो देखिएपछि गाउँका अन्य साथीलाई अलैँची लगाउने सल्लाह दिएँ तर अहिले तिम्रो कारण भात खाने खेत मासियो, आम्दानी छैन भनेर गाली गर्न थालेका छन् ।”

राईले तीन बगानमा गरी करीब १५० रोपनीमा अलैँची लगाउनुभएको छ । उहाँले भन्नुभयो, “साविकको जिल्ला कृषि विकास कार्यालय हाल कृषि ज्ञान केन्द्रले हामीलाई धेरै सहयोग गरेको छ, त्यसको कारणले पनि यसको खेतीमा लागियो तर मूल्य नपाउँदा असाध्यै गाह्रो भएको छ । यसका लागि सरकारले पनि ध्यान दिनुप¥यो ।”

प्रतिक्रिया दिनुहोस्