Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

पर्यटक बसका चालक नै ट्राफिक फन्दामा



काठमाडौं । पर्यटक चालकले नै मापेस सेवक गर्ने गरेको पाइएको छ । जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज १ प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे ।

जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध १ ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो । सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका लागि हिँडेको ना ६ ख १०८० नंको यात्रुबाहक बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा पर्यो ।

जेठ २२ गते साँझ ४ः३० बजे काठमाडौँबाट ४० जना यात्रु लिएर बागलुङ जान लागेको बा ५ ख १५५४ नंको बस ट्राफिक प्रहरीको फन्दामा पर्यो । सोही दिन साँझ ८ः३० बजे काठमाडौँबाट ३० जना यात्रु लिएर विराटनगर जान लागेको ना६ख १५६१ नं को बस जाँचका क्रममा ट्राफिक प्रहरीको फन्दामा पर्यो ।
यी त केबल प्रतिनिधि घटना मात्र हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले तीन दिनमा सातजना रात्रिकालीन बस चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रणमा लिएको छ ।

चालकको लापरवाहीका कारण वर्षेनी हजारौँ यात्रु दुर्घटनाको शिकार बनिरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचका घटनालाई कडाइ गरेको छ ।

महाशाखाले नियन्त्रणमा लिएका रात्रिकालीन बस चालकलाई सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यस्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त रात्रिकालीन बस चालकले मापसे गरी सवारी चलाएको भन्ने जनगुनासो आएपछि महाशाखाले रात्रिकालीन सवारी साधनलाई कडाइका साथ जाँच गरेको बताउनुहुन्छ ।

“एउटा चालकको लापरवाहीका कारण कोही पनि यात्रु दुर्घटनाको शिकार नबनुन् भन्ने हाम्रो प्रमुख लक्ष्य हो”, उहाँ भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्