खानेपानीमा लगानी गर्न विश्व बैंकलाई मन्त्री मगरको आग्रह
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्य हासिल गर्न सरकार तिव्र गतिमा अघि बढ्न खोजिरहेको बताउनुभएको छ ।
खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकार योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तर पनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ ।
जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।”
ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गर्नुभयो ।
उहाँले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गर्नुभयो ।
तराई मधेश क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराउनुभयो । हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उहाँको आग्रह थियो ।
तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पु(याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताउनुभयो ।