Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

फेदीकुना सालघारी र सिख्रमा पानी प्रशोधन केन्द्र



लमजुङ सुन्दरबजार नगरपालिका ९ का स्थानीयका लागि खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । फेदीकुना सालघारी र सिख्रमा दुई स्थानमा पानी प्रशोधन केन्द्र निर्माणपछि स्थानीयलाई सहज भएको छ ।
जथाभावि खानेपानी प्रयोग गर्दै आएका स्थानीयले शुद्ध खानेपानी प्रयोग गर्न थालेको दाबी गरिएको छ ।

स्थानीय कोपिला सापकोटाले यसअघि धारामा लेदो, हिलो जमेको पानी बगेर आउने गरेकोमा पानी प्रशोधन केन्द्र निर्माणपछि सफा आउने गरेको बताइन् । देख्दैमा साह्रै फोहोर लाग्थ्यो । अहिले त सफा आउँछ । यही पानीलाई शुद्ध खानेपानी भनिएको छ । हामीले पिउनेदेखि लुगा धुन तथा नुहाउन साथै बस्तुभाउलाई पनि यही पानी प्रयोग गर्छौं,’ उनले भनिन् ।

लसुनेखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नेपाल सरकारको लगानीमा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको समितिका अध्यक्ष प्रेम जिसीले बताए ।
नेपाल सरकारको ८० प्रतिशत र उपभोक्ता समितिको २० प्रतिशत लगानी गरी कुल ४ करोड ११ लाख ६८ हजार ८ सय १० रुपैयाँको लागतमा खानेपानी प्रशोधन केन्द्रको निर्माण गरिएको उनले बताए ।

खानेपानीका प्राविधिकका अनुसार फेदीकुना सालघारीको प्रशोधन केन्द्रबाट प्रतिसेकेन्ड ६ लिटर र सिख्रको खानेपानी केन्द्रबाट प्रति सेकेन्ड ३ लिटर पानी प्रशोधन हुन्छ । प्रशोधन केन्द्रमा ३ तहबाट पानी प्रशोधन गरिएकोछ । खानेपानी प्रशोधन केन्द्रको निर्माण २०७३ बाट सुरु गरिएको थियो ।

खानेपानी समितिका उपाध्यक्ष इन्द्रबहादुर गुरुङका अनुसार लसुनेखोला र सिस्नेरीको मुहानबाट पानी ल्याएर प्रशोधन केन्द्रमा जम्मा गरिएको छ । यसअघि सिधै ट्यांकीको पानी धारामार्फत उपभोक्ताको घरघरै पुर्‍याइएको थियो । प्रशोधन केन्द्रमा निर्माणपछि सिउँडीबार, पैह्रे, फूलबारी र फेदीकुनाका ६ सय ५९ घरमा धारा जडान गरिएको छ ।

सो आयोजनाबाट ६ हजार ५ सय स्थानीय लाभान्वित भएका छन्  ।‘अहिले पानीको आवश्यकता मासिक १ करोड ३६ लाख ५० हजार लिटर छ । १ करोड लिटरमात्रै पानी वितरण गर्न सकिएको छ । आयोजनामा कुनै समस्या नभए मासिक १ करोड २९ लाख ६० हजार लिटर पानी वितरण गर्न सकिन्छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ५ वर्षभित्र प्रदेशका सबै घरमा शुद्ध खानेपानी पुर्‍याइने दाबी गरे । ‘हामी २ वर्षभित्र सबै ठाउँमा आधारभूत खानेपानी पुर्‍याउँछौं । ५ वर्षभित्र शुद्ध खानेपानी पुर्‍याउँछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्