
काठमाण्डौं । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ टानको आसन्न अधिवेशन नजिँकिदै छ । अधिवेशनको मिति नजिँकिदै जाँदा नयाँ नेतृत्वको लागि पनि चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । यस्तै टानको नयाँ नेतृत्वको लागि महासचिवमा युवा तर कर्मठ पर्यटन व्यवसायी सरिता लामाले उम्मेदवारी दिएकी छिन् ।
सफल महिला पर्यटन व्यवसायी लामा टानकै इतिहासमा पहिलो महिला महासचिव उम्मेदवारको रुपमा प्रतिस्पर्धा गर्दैछिन् । रामेछापको दोरम्बा गाउँपालिका डडुवामा जन्मिएकी लामा आफ दि वाल ट्रेकिङ एजेन्सीकी प्रबन्ध निर्देशक हुन् । लामा पर्यटन व्यवसायमा अब्बल महिलाभित्र पर्छिन् । टानको साधारण सदस्य, कार्यसमिति सदस्य हुँदै लामाले कुमार थापाको प्यानलबाट महासचिवमा उम्मेदवारी दिएकी हुन् ।
सन् २००४ मा नर्सिङ पेशा छोडेर लामा ट्रेकिङ व्यवसायमा आवद्ध भएकी हुन् । समग्र पर्यटन व्यवसायीको हितका साथै पारदर्शी र व्यवसायीक संस्था निमार्णका लागि आफुले महासचिवमा उम्मेदवारी दिएको उनले बताइन् । जस्तोसुकै अवस्थामा पनि आफनो पेशालाई निरन्तरता दिएकी लामा दृढ इच्छाशक्ति भएकी महिला पर्यटन व्यवसायीभित्र पर्छिन् ।
पर्यटन व्यवसायका अलवा उनी समाजसेवामा समेत सक्रिय छिन् । पर्यटन व्यवसायी लामा रिमठिम नेपाल नामक सामाजिक संस्थाको समेत महासचिव छिन् । पदयात्रा व्यवसायीको साझा संगठन टानको यहि भदौ २० गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।