Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

‘एनआरएनए अन्तर्गतको कृषि समिति विवादमा’



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको कृषि प्रवर्द्धनसम्बन्धी समिति विवादमा तानिएको छ ।

नेपालको कृषि क्षेत्रको विकासमा नेपाल सरकार र गैरआवासीय नेपाली बीच समन्वयको भूमिका निर्वाह गर्न सो समिति गठन गरिएको थियो । तर, समिति काठमाडौं उपत्यका भित्र अर्बौ रुपैयाँ पर्ने सरकारी जग्गाको माग गर्न नेपाल सरकार समक्ष पुगेपछि विवादमा तानिएको हो ।

समृद्धिका लागि ‘कृषि, कृषि अभियानमा गैरआवासीय नेपाली’ नारासहित आफ्नो काम अगाडि बढाएको सो समितिले संघको केन्द्रीय समितिलाई समेत वाइपास गरेर आफ्नो गतिविधि अगाडि बढाएको भेटिएको छ ।

नेपाल ब्रिटेन डट कमलाई प्राप्त डकुमेन्ट अनुसार कृषि समितिका संयोजक (कन्भेनर) युवराज गुरुङ्गले आफूखुसी समिति गठन गरेको भेटिएको छ ।

उनले नेपाल सरकारद्वारा गठित मन्त्रिस्तरीय एक उपसमितिमा संघको जानकारी विना केही सदस्यहरुको नाम समेत सिफारिस गरेको भेटिएको हो ।

यस्तो खुलासापछि संघका महासचिव डा. बद्रि केसीले नोभेम्वर महिनाको तेस्रो साता उनीसँग लिखित स्पष्टीकरण माग गरेका थिए ।

स्पष्टीकरणपछि संघले उपाध्यक्ष कुल आचार्यलाई सम्पर्क व्यक्तिको रुपमा समितिको सदस्य तोकेको थियो । आचार्यको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले कृषिमन्त्री चक्रपाणि खनाल बलदेवलाई भेटेर नेपालमा आधुनिक कृषि बजार निमाणका लागि जग्गा उपलव्ध गराइदिन माग गरेको थियो ।

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपालमा रबर खेतीको सम्भवाना र अवसरका सम्वन्धमा अध्ययन गर्न गठित मन्त्रिस्तरीय समितिमा समेत संघको सहमति बिना गुरुङले नाम सिफारीस गरेको पाइएको छ ।

संघका एक केन्द्रीय सदस्यका अनुसार सो कार्यदलमा सिफारिस गरिएका व्यक्तिको बारेमा हालसम्म संघको कुनै पनि निकायमा छलफल भएको छैन ।

कृषि समितिले आफै मनोनित गरेर नाम पठाएको जानकारी मात्र प्राप्त भएको भएपनि कही कतै छलफल भएको आफूलाई थाहा नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्