
काठमाडौं । चर्चित नेपाली लोक गायक पशुपति शर्मा विश्वभर खोजीको गायकमा परेका छन् । भ्रष्टाचार, व्यथिति, अनियमितताविरुद्ध ‘लुट्न सके लुट कान्छा’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेपछि उनलाई संसारभर खोजी गरिएको हो ।
बिहीबार शर्माको गीत युट्युबमा अपलोड गरेपछि रातारात हिट भयो । गीतका शब्द र दृश्यलाई लिएर सत्तारुढ दलको भातृसंगठन युवसंघ नेपालले असन्तुष्टिसहितको विज्ञप्ति जारी गरेपछि शुक्रबार गायक शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबबाट हटाएका थिए।
सरकार र सत्तारुढ दलको दबाबका कारण गीत हटाउन बाध्य पारिएको भन्दै सरकारकोआलोचना भइरहेको छ भने केहिले शव्द चयन ठिक नभएको पनि टिप्पणी गरिरहेका छन् । शर्माको गितको विषय पक्ष प्रतिपक्षको लागि वाकयुद्धको मसला समेत बनिरहेको छ ।
यस घटनाले मुलुकभित्र मात्रै होइन संसारभर उनलाई र उनको गीत खोजी भइरहेको छ । अमेरिका, युरोप, मध्यपूर्व लगायतका विश्वभरका चर्चित संचारमाध्यमले कभर गर्न थालेका छन् भने सर्च इन्जिन गुगलमा खोजीको सूचीको पहिलो नम्बरमा गायक शर्मा परेका छन् ।