अनलाइन बिलिङ तत्काल अव्यावहारिक
बिराटनगर। आन्तरिक राजस्व विभागले ३५ करोडभन्दा बढी कारोबार हुने करदाताले २०७५ चैत मसान्तभित्र आफूले गर्ने कारोबारमा अनिवार्य रूपमा विद्युतीय माध्यमबाट वीजक जारी गर्न सूचना प्रकाशित गरेपछि व्यवसायीले यसलाई नेपालका सन्दर्भमा अव्यावहारिक भएको भन्दै आपत्ति जनाएका छन्।
विभागले यही माघ ११ गते केही राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै विद्युतीय माध्यमबाट वीजक जारी गर्न अनिवार्य बनाएको हो।
सूचनामा चैत मसान्तभित्र विभागको कम्प्युटर बिलिङ म्यानेजमेन्ट सिस्टम (सिबिएमएस) सँग आबद्ध हुने गरी सफ्टवेयर अद्यावधिक गरी विभागमा सूचीकृत गरिसक्नु पर्ने उल्लेख गरिएको छ। करदाताले सिबिएमएससँग आबद्ध हुने गरी सफ्टवेयर अद्यावधिक गरेपछि वीजक जारी गर्नेबित्तिकै त्यसको जानकारी विभागमा पनि पुग्छ।