Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

डिप्रेसन एक मानसिक समस्या



कहिलेकाहीँ मानिसको मन अनायासै लामो समयसम्म उदासीन हुन पुग्छ । अरूका लागि मात्र हैन कि बिरामी आफैँलाई पनि किन म यति लामो समयसम्म बिनाकारण दिक्क र उदासीन भएँ भनेर आश्चर्य लाग्छ । नियमित काममा मन नजाने, दिक्क लाग्ने, परिवारका बीचमा पनि निसहाय महशुस हुने, मर्न मन लाग्ने स्थितिलाई हामी डिप्रेसन अर्थात् मानसिक अवसादका रूपमा लिन्छौँ ।

डिप्रेसन विविध रूपमा देखा पर्छ । डिप्रेसनका अधिकांश बिरामीलाई शुरुमा सामान्य लक्षण देखिन्छन् र २-३ हप्तामै पूर्णरूपले ती हराउँछन् पनि । यस्ता लक्षण हल्का रूपमा देखिँदा यो रोग हो भन्ने शंका नै हुन पाउँदैन र उपचारको जरुरत पर्दैन ।

तर, कतिपय रोगीलाई डिप्रेसन महिनौँ या वषौर्ंसम्म रहन्छ र विभिन्न लक्षण देखिन्छन् । यिनीहरुमा उदासीन भावना सँगसँगै डर, त्रास, रीस -चिडचिडाहट) आन्तरिक तनाव, अत्यधिक सोचाइ या विचारको रिक्तता, अरूमाथि शंका, असुरक्षाको भावना जस्ता मनसँग सम्बन्धित खराबीहरु मुख्य लक्षणका रूपमा देखिन्छन् । यीमध्ये एकै व्यक्तिमा एक दुईओटा मात्र वा केही या अधिकांश लक्षण पनि देखिन सक्छन् । एउटै लक्षण पनि फरक-फरक व्यक्तिमा समय-समयमा धेरै र थोरै गरेर देखिन सक्छ ।

मनभित्र देखिने यी विकृतिबाहेक डिप्रेसनका बिरामीमा शारीरिक समस्या पनि प्रचूर मात्रामा हुन्छन् । निद्रा नपर्नु, भोक नलाग्नु, शरीर दुब्लाउनु, कब्जियत हुनु, यौनइच्छा र शक्ति कमजोर हुनु, महिनावारी गोलमाल हुनु (बढी रक्तश्राव) जस्ता समस्या देखिन सक्छन् । यीसँगै टाउको दुख्नु, रिङ्टा लाग्नु, मुटुको धड्कन बढ्नु, सास फेर्न गाह्रो हुनु, जीउ दुख्नु, शारीरिक सिथिलता हुनु, कमजोरी अनुभव हुनु आदि पनि डिप्रेसनका लक्षण हुन सक्छन् । यी शारीरिक लक्षण डिप्रेसनबाहेक अरू शरीरमा लाग्ने रोगमा पनि भेटिन सक्ने हुनाले डिप्रेसनको किटान गर्नुअघि यिनको शारीरिक परीक्षण गरेर शरीरका सबै रोगको सन्देह मेटाउनुपर्छ ।

प्रायः कडा रूपको डिप्रेसनमा मूलतः मनसम्बन्धी लक्षणको बाहुल्य हुन्छ । यस्ता व्यक्तिले आफ्नो समस्या मानसिक हो भनेर सजिलै ठम्याउन सक्छन् । नजिकका अरूले पनि मानसिक रोग लागेको अनुमान लाउँछन् । त्यसैले सुरुबाटै यिनीहरुको मानसिक रोगको उपचार हुन्छ । डिप्रेसनमा पागलपनको लक्षण हुँदैन तापनि विरक्ति र हीनताबोध तथा आत्मग्लानि चरम रूपमा देखिएपछि बिरामीले आफू उपचारका लागि अयोग्य भएको ठान्छ । ऊ आफूलाई उपचारले कुनै फरक नपर्ने बरु उल्टो आफन्तलाई थप व्ययभार बोकाएको आदि तर्क दिँदै उपचार गर्न सहमत नहुन सक्छ ।

गम्भीर प्रकृतिको डिप्रेसनका बिरामी त्यस्तै चरम रूपको उदासीनता र अनिच्छाको अवस्थामा हुन्छन् । यस्ता बिरामी नबोल्ने, नखाने, हिँडडुल नगर्ने र निश्चल रूपले कैयौँ दिनसम्म टोलाएर र झोक्राएर बसिरहने गर्छन् । यो अवस्थालाई इमर्जेन्सी मानिन्छ ।

कडा डिप्रेसनमा आन्तरिक तनाव र विरक्त भावले असहृय बनाएर छटपटाउने, आत्तिने, कुद्ने, ओहोर-दोहोर गर्ने पनि हुन्छ । यस अवस्थामा बिरामीलाई जबर्जस्ती रोक्नुपर्ने पनि हुन्छ । यस्ता कडा खालका डिप्रेसनका बिरामीको संख्या भने त्यति धेरै हुँदैन । बहुसंख्यक डिप्रेसनका केस सामान्य हुन्छन् र यिनीहरुमा भित्री भावनाभन्दा शारीरिक लक्षण नै बढी देखा पर्छन् । यस्ता बिरामीलाई राम्रोसँग सोधपुछ गर्दा मानसिक तनाव र खिन्नता हुनेगर्छ । तर, यिनीहरु आफ्ना शारीरिक समस्यामै बढी केन्दि्रत हुन्छन् । उनीहरुलाई शरीरभित्रै खराबी भएको विश्वास हुन्छ ।

त्यसैले यस्ता बिरामी आफ्नो शारीरिक रोगको खोजीमा अनेक परीक्षण गर्छन् । धेरै स्थान र विभिन्न चिकित्सकसँग परामर्श गरिरहन्छन् । अझ डिप्रेसनमा शरीरका प्रायः सबै भागमा कुनै न कुनै समस्या देखिने हुनाले यस्ता बिरामीले सबै किसिमका विशेषज्ञ भेटिसकेका हुन्छन् । कसैले मानसिक रोगतिर संकेत गरेमा बिरामीले तुरुन्त प्रतिवाद गर्ने र सुरुमै नकार्ने हुनाले यिनीहरुको ठीक ढंगले उपचार हुन पाउँदैन । परीक्षण र उपचार गराउँदा-गराउँदै बिरामी थाक्छ र निराश हुन्छ । आफन्तले पनि समस्या नै नबुझी रोग नै होइन कि भन्ने शंका गर्दै रोगको बहाना गरेको, अल्छी भएको जस्ता लाञ्छना लगाउँछन् ।

हाम्रो जस्तो पूर्वीय सभ्यताको समाजमा डिप्रेसनका रोगीले पश्चिमका व्यक्तिहरुले जस्तो उदासीनता, जीवनको रिक्तता, हीनभावना, अपराधबोध जस्ता अन्तर्मुखी भावनाभन्दा बाहिरी शरीरका लक्षण प्रस्तुत गर्दै डिप्रेसनलाई शारीरिकीकरण गरेर प्रस्तुत गर्छन् । तर, यो मूल रूपले मनकै रोग भएकाले शारीरिक लक्षण केलाउँदा मानसिक लक्षण पनि अनिवार्य रूपले फेला पर्छन् ।

यो रोगको प्रस्तुतिमा कहिलेकाहीँ आफ्नो संस्कृति, सामाजिक मूल्य र मान्यताअनुसार विशिष्ट रूप देखा पर्छ । हाम्रो समाजमा डिप्रेसनबाट पीडित कतिपय व्यक्तिको विचलित मनलाई बोक्सी लागेको, अरूले बिगारिदिएको, मोहनी लाइदिएको, कुलदेवता, इष्ट-देवता रिसाएको आदि भनेर व्याख्या गरिन्छ । त्यसलाई बल पुर्‍याउने वातावरण -धामी, झाँक्ती ) हँुदा बक्ने अरू शक्तिको रूप धारण गर्ने ९एयककभककष्यल० आदि पनि हुन्छ ।

डिप्रेसनका फरक-फरक रूप र गाम्भीर्य ९क्भखभचष्तथ० भए पनि सबैमा केही समान लक्षण हुन्छन् ः खुसीको अभाव र मनको विरक्ति । डिप्रेसनका अधिकांश बिरामी बिनाउपचार पनि आफैँ स्वस्फूर्त रूपमा निको हुन्छन् । त्यसरी आफैँ निको हुन यिनीहरुलाई औसत ६ देखि ९ महिना लाग्न सक्छ । तर, कहिलेकाहीँ यो रोग वर्षौंसम्म पनि रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्