Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

नयाँ (वंश) थर निर्माण र परिवर्तन



नेपालको सुदूर पूर्वी पहाडका अरुण र तमोर उपत्यका क्षेत्रमा बसोबास गर्ने आदिबासी जनजातिहरु मध्ये सघन रुपमा आवाद भएको प्रमुख जाति लिम्बू हो, यसमा कुनै दुई मत छैन । धर्म, संस्कृति तथा परम्परा हेर्दा यो जाति प्रकृतिपूजक, मातृसत्तात्मक र गणवादी देखिन्छ । यतिसम्म कि आफ्नो मौलिक परम्परा तथा संस्कृतिका कारण लिम्बूहरु अन्य किरातबंशी भन्दा केही बेग्लै महसुस गर्न सकिन्छ ।

प्रकृतिमा रहेका विविध वस्तु, पदार्थ, जीव तथा निर्जीव वस्तु समेत किरात लिम्बू समुदायबाट आस्था तथा विश्वासका प्रतिकका रुपमा पूजित र सम्मानित छन् तर ती सबै प्रकृतिमा नै उपलब्ध छन्, कुनै अलौकिक वस्तु वा निराकार छैनन् ।

धर्मलाई कर्तव्य र व्यवहारका रुपमा ग्रहण गर्ने सामाजिक परम्पराले गर्दा लिम्बूहरु आफ्नो समुदाय भित्र अघोरै गणवादीको रुपमा चिनिन्छन् । लिम्बू जातिको मुन्धुममा वर्णित शास्त्रीय विधिविधानमा कुनै पन्थ वा सम्प्रदायको उल्लेख वा व्याख्या गरेको पाईदैन । यद्यपि लिम्बू जातिमा अन्य जातिले थोपरी दिएका “काशीवंशी कि ल्हासावंशी ?” भन्ने अमूर्त गोत्रिय विवाद भने पाउन सकिन्छ ।

वास्तवमा यसका आफ्नै कारणहरु हुन सक्छन्– जस्तो कि किरात लिम्बूहरुको एक समूह जो पछि यसैमा विलय भयो, ती काशीवंशी हुन सक्छन् । त्यस्तै ल्हासा वा पूर्वी तिब्बतबाट यस क्षेत्रमा प्रवेश गरेका किरात लिम्बूहरुलाई ल्हासावंशी भनिएको हुन सक्छ । हालसालै आएर मुन्धुम र इतिहासमा खोजी र रुचि राख्ने किरात लिम्बूहरु बहसका रुपमा सत्यहाङ्मा पन्थ, यूमासाम्यो वा अन्य त्यस्तै विविधि पन्थ वा सम्प्रदायका नामहरु अगाडि सार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्