Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन



भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रियस्तरको बैठक सुरु हुने भएको छ। त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उनका विपक्षी तथा हालैमात्र आफूलाई सो देशको अन्तरिम राष्ट्रपतिको रूपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ।

भेनेजुएलको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएको केही दिनपछि यस देशको संकट समाधानार्थ यो वार्ताको आयोजना गरिएको बताइएको छ। उनले गएको आइतबार मात्र स्पेनको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सो धारणा राखेका थिए। अर्कातर्फ नेता गुइदोले पनि आफूलाई अमेरिका, पश्चिमा राष्ट्रहरू तथा पछिल्लो समयमा गत हप्तामात्र युरोपेली युनियनको पनि समर्थन रहेकोले आफू नै यहाँको राष्ट्रपति भएको बताएका छन्।

उक्त बैठकमा युरोपेली युनियन, आठओटा अरू युरोपेली देश र पाँचओटा ल्याटिन अमेरिकी देशका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। युरोपेली युनियनको कूटनीतिक स्रोतका अनुसार सो बैठकमा खासगरी हालैका दिनमा भेनेजुएलामा जारी रहेको राजनीतिक संकटको समाधानका लागि आवश्यक विभिन्न प्रयास तथा विकल्पहरूका बारेमा छलफल गरिने छ। उक्त बैठकको अग्रसरता मेक्सिको र उरुग्वेले लिएका समाचारमा जनाइएको छ। भेनेजुएलामा यो समस्याको सुरुआत भएपछि यी दुई देशलाई तटस्थ देशका रुपमा लिइएको छ।

यसअघि युरोपेली युनियनले पनि मध्यस्थताको प्रयास गरेको थियो। युरोपेली युनियनले केही ल्याटिन अमेरिकी देशहरूको सहयोगमा भेनेजुएलाको राजनीतिक संकटक समाधानको प्रयास थालेको थियो। सोही समाधानस्वरूप नै युरोपेली युनियनले यस देशलाई जतिसक्दो चाँडो निर्वाचनको आयोजना गर्न भनेको थियो। युरोपेली युनियनले निर्वाचनको घोषणा गर्न गएको आइतबारसम्मको समय दिएकोमा सो निर्वाचन घोषणा गर्न राष्ट्रपति मडुरोले नमानेपछि युरोपेली युनियनले पनि मडुरोको समर्थन गरेको छैन।

गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उहाँलाई नै समर्थन गरेका थिए।।

प्रतिक्रिया दिनुहोस्