Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

बंगलादेशका निजी कलेजमा एमबिबिएस र बिडिएस पढ्न रोक



काठमाडौं  ।  नेपाल मेडिकल काउन्सिलले बंगलादेशका निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाली विद्यार्थीका लागि रोक लगाउने तयारी थालेको छ। 

काउन्सिलले बंगलादेशका अधिकांस निजी मेडिकल कलेजको गुणस्तरमा समस्या देखिएको भन्दै नेपाली विद्यार्थीलाई अध्ययनको अनुमति रोक्न लागेको हो। यसका लागि काउन्सिलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पत्र समेत पठाएको छ।

काउन्सिलले पठाएको पत्रमा बंगलादेशका निजी मेडिकल कलेजहरुको गुणस्तरमा प्रश्न उठ्नुका साथै कलेजहरु कालो सूचीमा परेका कारण नेपाली विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै अबदेखि निजी कलेजमा एमबिबिएस र बिडिएस पढ्न पाठउन नहुने विवरण उल्लेख छ। काउन्सिलले बंगलादेशबाट एमबिबिएस र बिडिएस अध्ययन गरेर फर्केका धेरै विद्यार्थीहरु काउन्सिलमा फेल हुने गरेको तथ्यांक समेत पत्रसहित मन्त्रालयमा पठाएको छ।

काउन्सिलले बंगलादेशका २५ वटा सरकारी मेडिकल कलेजमा मात्र नेपाली विद्यार्थीलाई पढ्न पठाउन सकिने र अनुमति दिँदा सरकारी कलेजमा मात्र दिन सकिने पत्र मन्त्रालयमा पठाएको हो। मन्त्रालयले काउन्सिलको उक्त पत्रका विषयमा छलफल गरिरहेको बताइएको छ।

काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले बंगलादेशका ३५ भन्दा बढी मेडिकल कलेज कालो सूचीमा परेको र त्यहाँका निजी मेडिकल कलेजमा सँधैजसो समस्या आइरहने देखिएपछि काउन्सिलले निजीमा जान नै नदिने निर्णयमा पुगेको बताए।

‘बंगलादेशमा एक सय भन्दा बढी निजी मेडिकल कलेज छन् र तीमध्ये अधिकांसमा समस्या छ,’ उनले भने, ‘गुणस्तरीय पठनपाठनदेखि अन्य कुरामा पनि समस्या देखिएकाले नेपाली विद्यार्थीको भविष्यलाई ख्याल गरेर हामी यो निर्णयमा पुगेका हौँ।’ उनले शिक्षा मन्त्रालयबाट निर्णय भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

बंगलादेशका निजी मेडिकल कलेजको गुणस्तरमा प्रश्न उठ्न थालेपछि स्वास्थ्यखबरले गत जेठको पहिलो साता बंगलादेशका मेडिकल र डेन्टल कलेजको स्थलगत अध्ययन गरेको थियो। सो क्रममा बंगलादेशका ८० प्रतिशत मेडिकल कलेज गुणस्तरहीन रहेको र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको भविष्यमाथि गम्भिर प्रश्न उठिरहेको रिपोर्ट प्रकाशित गरेको थियो। 

बंगलादेशकै मेडिकल एन्ड डेन्टल काउन्सिलका रजिष्ट्रार डा जाहेदुलहक बसुनियाले बंगलादेशका अधिकांश मेडिकल कलेजको गुणस्तर कमजोर रहेको तितो यथार्थ सार्वजनिक गरेका थिए। नियामक निकायकै जिम्मेवार पदाधिकारीले आफ्नै देशका मेडिकल कलेजको गुणस्तरका विषयमा प्रश्न उठाएपछि नेपाल मेडिकल काउन्सिलले यो विषयलाई गम्भिर रुपमा लिएर थप अध्ययन अगाडि बढाएको अध्यक्ष बाँस्कोटाले जानकारी दिए।
‘हामीले त्यहाँका निजी कलेज र गुणस्तरका विषयमा नेपाली दुतावासको सहयोगमा थप अध्ययन गरेका थियौँ,’ उनले भने, ‘त्यसक्रममा निजी मेडिकल कलेजमा समस्या नै समस्या रहेको पाइएको थियो। त्यसपछि हामीले गुणस्तरहिन जनशक्ति उत्पादन हुने मुहानमा जान नै रोक लगाउने निर्णयमा पुगेका हौँ।’

स्वास्थ्यखबरसँग बंगलादेशको काउन्सिलका रजिष्ट्रारले ‘बंगलादेशका अधिकांश निजी मेडिकल तथा डेन्टल कलेज चिकित्सा शिक्षा अध्ययनका लागि योग्य छैनन्। विशुद्ध व्यापारका लागि खोलिएका यस्ता कलेजमा डाक्टरी शिक्षा अध्ययन गर्न आउनु भनेको फस्नु मात्रै हो’ भनेका थिए।

बंगलादेशको ढाकास्थित सरानीविजोय नगरमा रहेको काउन्सिलको कार्यालयमा २०७५ जेठ ७ गते दिउँसो २ बजे स्वास्थ्यखबरको टोलीसँग रजिस्ट्रार डा बसुनियाले राजनीतिक दबाब र आर्थिक प्रलोभनमा काउन्सिलका मापदण्ड र पूर्वाधार पूरा नभएका कलेजहरूलाई काउन्सिलले मान्यता दिनुपर्ने बाध्यता रहेको बताएका थिए।

‘हाम्रो काउन्सिलले मान्यता दिएको कलेज हो भनेर ढुक्क हुने अवस्था छैन,’ उनले त्यतिबेला भनेका थिए, ‘मेडिकल कलेजका लागि हुनुपर्ने कुनै पनि मापदण्ड र पूर्वाधार पूरा नभए पनि हामी हात बाँधेर बस्नु परिरहेको छ।’ उनले अध्ययनका लागि बंगलादेश आउने हो भने सकेसम्म सरकारीमा मात्र पढ्न सुझाव पनि दिएका थिए।

प्रतिक्रिया दिनुहोस्