Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

शैक्षिक सत्रबाट अनुदानमा कक्षा ११ को पढाइ



क्षेत्रफलका हिसाबले नेपाल कै ठूलो नाम्खा गाउँपालिकाले यसै शैक्षिक सत्रबाट अनुदानमा कक्षा ११ को पढाइ शुरु गरेको छ । कक्षा दश उत्तीर्ण पछि विद्यार्थीहरुले माथिल्लो कक्षा अध्ययन गर्न दुई देखि तीन दिन पैदल हिडेर डेरामा बस्नु पर्ने बाध्यताबाट मुक्ती दिन कै लागि गाउँपालिकाले घरछेउ मै रहेको बिद्यालयमा अनुदानमा दिएर कक्षा ११ सम्मको पठाइ शुरु गरेको हो ।


पछिल्लो समय नाम्खाका विद्यार्थीहरुमा पनि अध्ययनमा चासो बढ्न थाले पछि गाउँ कै विद्यालयमा ११ कक्षा पढ्नका लागि पालिकाले बजेट अनुदान दिएको अध्यक्ष बिष्णु लामाले बताए । कक्षा ११ को पठन पाठन शुुरु भएपछि  आर्थिक श्रोत कमजोर भएका विद्यार्थी र अभिभावकलाई सहज भएको उनले जानकारी दिए ।


कक्षा १० सम्म पढाइ हुने महाबौद्ध मावि याल्बाङ्गमा यसै शैक्षिक सत्रबाट कक्षा ११ सम्म पढाइ हुने गरि अनुमति मात्र होईन अनुदान समेत दिएर पढाइ शुरु  भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर नेपालीले जानकारी दिए ।


गाउँपाकिलाको भुगोल ठुलो भए पनि गाउँपालिका भरि एक मात्र मावि भएको कारण उक्त विद्यालयबाट कक्षा दश उत्तीर्ण विद्यार्थीहरुमा हुने खानेले काठमाडौं र अलि ठिकैले सदरमुकाम सिमकोटमा आएर पढ्नु पर्ने र कमजोरले माथिल्लो पढाइनै छोडनु पर्ने भए पछि गाउँपालिकाले २१ लाख अनुदानै दिएर पढाइ शुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्