Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

चानचुने थिएन त्यो सफलता



‘ मेरो लक्ष्य ८ ः ३० को थियो । गुरु ( धनीराम चौधरी ) र मैले यही टार्गेट राखेका थियौ । हामीलाई पदक जित्ने आशा थियो । तर, कताकता डर लागिरहेको थियो । मध्यमदुरीका धावकका लागि यही समस्या । राम्रो समय की पदक ? केमा आफूलाई केन्द्रित गर्ने ? पहिलो ल्याप अरुलाई हेर्ने योजना बनाँए । तर, सोचेको भन्दा यस्तो फरक रह्यो की ६८ सेकेन्डमा ल्याप पुरा हुन्छ भन्ने लागेको थियोे । ७२ सेकेन्ड लाग्यो । मैले जे होला आफै अगाडी बढ्छु भन्ने निर्णय गरे । ’ १७ बर्षे अजित यादवको यही निर्णय एउटा प्रमुख कारण थियो की उनी एसियन युथ एथलेटिक्स च्याम्पियनसीपका स्वर्ण पदक विजेता बने । तेश्रो ल्याप बाकीँ रहदा त उनले अन्य सबै प्रतिद्धन्दीलाई धेरै पछी पारेका थिए । उनले आफ्नो लक्ष्य पनि पुरा गरे । ८ मिनेट ३०.३२ सेकेन्डमा दुरी पार गर्दा दोश्रो स्थानमा रहेका भारतका अमित जन्जीरले ८ मिनेट ३६.३४ सेकेन्ड लगाए । हङकङमा सन् २०१९ को मार्च महिनाको मध्यमा भएको एसियन युथ च्याम्पियनसीपको तेश्रो सस्करणले नेपाली एथलेटिक्सलाई चार दशक पछि एसियाली तहमा आफ्नो प्रभाव छाड्ने मौका दिएको थियो ।
एसियाली स्तरको प्रतियोगिता । त्यसमा पनि दुइ चार देशले खेल्ने खेलको स्वर्ण पदक होइन । भर्खरै विकसीत हुदै गरेको खेलको स्वर्ण पदक पनि त्यो होइन । उनी त ‘ फादर अफ स्पोर्टस् ’ मानीने एथलेटिक्समा एसियन युथ च्याम्पियन बनेका थिए । त्यसो त सामान्य नेपालीको जिवन त्यत्तिकै कठिन । सप्तरीबाट संघर्षै गर्दै काठमाडौमा जिवन विताइरहेका अजितको पनि अन्य आम नेपालीको भन्दा फरक छैन नै ।
अजितको यो सफलतासंगै केही प्रश्न उभिएका छन् । सामान्य नेपालीले पाएको असमान्य सफलताले उसको जिवनलाई फरक बनायो की बनाएन ? यो एउटा बहसको विषय हो नै । दुइ नम्बर प्रदेश सरकारवाट उनी सम्मानीत भए । उनी अध्ययनरत पिनाकल एकडेमीले पनि उनको अबको यात्रा सफल होस् भन्ने ध्येयले आफ्नो तर्फवाट सहयोग गरेकै छ ।एसियन तहमा कहिले योग्य नठहरिएकाहरुले अन्य प्रतियोगितामा सफलता पाउदा पनि ठूलै डम्फु पिट्ने काम नेपालमा नभएको होइन। त्यही डम्फू पिट्ने निकाय पनि अजितको सफलतामा मौन रह्योे । कारण प्रस्ट थियो, ‘ कुन प्रतियोगिताको महत्व कत्ति भन्ने बुझ्नहरुले नेपालको खेलकुद सत्ता चलाएका होइनन् । ’

त्यसो त एसियन युथ च्याम्पियनसीपमा अजितको सहभागिताको कथा पनि फरक छ । उनी नेपालको प्रतिनिधीत्व गरेर खेले पनि सिंगो नेपाली खेलकुद निकायका लागि उनको सहभागिता महत्वपूर्ण लागेको थिएन । उनकै संघ, राष्ट्रिय खेलकुद परिषद् र सरकारकै लागि उनको सहभागिता महत्वपूर्ण थिएन । एथलेटिक्सका पूर्व महासचिव सुनिल राजबंशी लगायतको व्यक्तिगत सहयोग र पहल नभएको भए उनी सहभागि हुने सम्भावना पनि सायद थिएन । एथलेटिक्सका केही पुराना अग्रजको उनी प्रति सद्भाव छ । त्यत्तिकै सद्भाव र सहयोग प्रशिक्षक धनीरामको पनि छ । त्यही सद्भाव नै उनले पाएको प्रमुख कुरा हो ।
विदेशमा तीन देशका दुइ चार जना जम्मा गर्दै जितेका थुप्रै स्वर्ण पदकका कथा पनि नेपालमा लेखिएका छन् । एथलेटिक्सको महादेशिय अफिसियल प्रतियोगिताको स्वर्ण पदकको वजन पनि त्यत्ति मात्र हो ? यत्ति अनुमान गर्न पनि नसक्ने राज्यको खेल नेतृत्वको कोपभाजनमा नेपालका धेरै खेलाडी परेका छन् । के अर्को एउटा पात्र थपीने त होइन ?
एसियन युथमा च्याम्पियन भए पछिको बाटो के ? यो अर्को प्रश्न हो । जुन देशमा सरोकारवाले निकायले खेलकुदलाई मनोरञ्जनको विषय ठान्छ, विज्ञानको पाटो ठान्दैन । त्यही देशको प्रतिनिधीत्व गरेर एसियन युथ सम्म उनी च्याम्पियन भए । प्रस्ट छ, प्रकृतीले अस्वभाविक क्षमता दिएकै कारण उनले यो उपलब्धी पाएका हुन् । के प्रकृतीले दिएको त्यही क्षमताको भरमा यही वातावरण, यही शैली र सरोकारवालको यही दृष्टिकोणको माझमा रहेर उनको यात्रा कत्ति अगाडी बढ्न सक्छ ?

प्रतिक्रिया दिनुहोस्