Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

बन्द हुनै लागेको विद्यालय बन्यो उत्कृष्ठ



हेटौंडा  । ४ वर्ष अघि विद्यार्थी नभएपछि बन्द हुने सूचीमा थियो दिव्यज्योति आधारभूत विद्यालय । व्यवस्थापन लथालिंग थियो । पढाइ राम्रो थिएन । विद्यार्थी घट्दै २० जना मात्र बाँकी रहे । तत्कालीन जिल्ला शिक्षा कार्यालयले गाभ्ने सूचीमा राख्यो ।

हेटौंडा उपमहानगरपालिका—९ वेदखोल्सीस्थित यो विद्यालयको अवस्था अहिले फेरिएको छ । पढाइको गुणस्तर राम्रो हुँदै गएको छ । व्यवस्थापनपनि सुध्रिएपछि अभिभावक पनि ढुक्कैले छोराछोरीलाई विद्यालय पठाउन थालेका छन् ।

‘पहिला स्कुलमा पढाइ राम्रो नभएकाले नातिनीलाई अर्को विद्यालयमा भर्ना गरेको थिएँ, स्थानीयवासी चन्द्रबहादुर योन्जनले भने, ‘अहिले वातावरण राम्रो भएको सुनेर यो शैक्षिक सत्रदेखि यही स्कुलमा भर्ना गरेका छौं ।’ उनले मात्र होइन अन्य अभिभावकले पनि दिव्यज्योतिमा नै बालबालिकालाई भर्ना गरेका छन् । विद्यालयमा अहिले नर्सरी कक्षामा मात्र ७० विद्यार्थी छन् ।

५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा १ सय ५० जना बालबालिका अध्ययनरत छन् । व्यवस्थापन समिति, स्थानीय अभिभावक र शिक्षकको सामूहिक प्रयत्नबाट नगरमा नमुना विद्यालयका रूपमा उभिन सफल भएको स्थानीय बताउँछन् ।

‘विद्यार्थी संख्या बढ्नुमा विद्यालयको शैक्षिक वातावरण परिवर्तन आउनुका साथै स्थानीय रूटमा चल्ने म्याजिक भ्यानसँग गरेको सहकार्यले पनि योगदान पुर्‍याएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भण्डारीले भने, ‘टाढारटाढाबाट आउने स्कुलका विद्यार्थीलाई स्थानीय रुटमा चल्ने म्याजिक भ्यानले ल्याउने र लैजाने वातावरण मिलाएकाले विद्यालयका विद्यार्थी संख्या वृद्धि भएको हो ।’ चार वर्षदेखि उक्त भ्यानले विद्यार्थीलाई स्कुल ल्याउने, लैजाने गर्दै आएको छ ।

विद्यालयमा समयानुकूल शिक्षा र अभिभावकको चाहनाबमोजिम अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । विद्यालयको भौतिक संरचनामा पनि व्यापक परिवर्तन आएको छ । ‘उज्याला कक्षा–कोठा, सफा र फराकिलो खेलमैदान, छात्र र छात्राका लागि सफा शौचालय, शिक्षक–शिक्षिकाबाट हुने नियमित पठनपाठन । विद्यालय र समुदायबीचको आत्मीयताले विद्यालयको स्वरूपमा नै परिवर्तन आएको हो,’ व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले भने । अंग्रेजी माध्यमका साथै अनिवार्य कम्प्युटर शिक्षाको समेत व्यवस्था भएपछि विद्यालयमा अहिले भर्नाको चाप बर्सेनि बढ्दो छ । कति विद्यार्थीलाई भर्ना लिन पनि सकेनौं, विद्यालयका शिक्षक पुरुषोत्तम आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्