Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

लक्ष्मी शर्माको संघर्ष कथा : टेम्पो चालकदेखि उद्योगीसम्म



२००६ सालमा महाराजगन्जमा जन्मिइन्, लक्ष्मी मगर । जसलाई पछि समाजले लक्ष्मी शर्मा बनाइदियो । ६ वर्षकी हुँदा उनले कन्याका रूपमा दरबारमा प्रवेश पाइन् । ११ वर्षसम्म दरबारमा बसिन् । त्यहाँ उनले संस्कार सिकिन्, खानदानी सभ्यता जानिन् ।

राजा त्रिभुवनकी कान्छी बहिनीसँग बसेकी उनी आफूले दरबारबाट सबैभन्दा ठूलो कुरा सभ्यता सिकेको ठान्छिन् । बचपनमा हरकसैले निर्दोष समय बाँचेको हुन्छ । आमा तामाङ, बुबा मगर, तर उनी शर्मा ! दरबारिया समाजले सिकाएको कुरा अहिलेसम्म काम लागिरहेको बताउँछिन्, उनी । भन्छिन्, ‘दरबारिया रीतिरिवाजमा सबैभन्दा ठूलो कुरा भनेको सभ्यता रहेछ ।’ दरबारिया भाषा उच्च कूटनीतिक हुने उनी सम्झिन्छिन् । जुन भाषा सफलताका लागि अति आवश्यक रहेको उनको ठम्याइ छ । भन्छिन्, ‘हिँडाइ, बोलाइ, लवाइ र खुवाइको ट्रेनिङ हुन्थ्यो, त्यहाँ ।’

अचेल काठमाडौं एनिमल ट्रिट सेन्टर (क्याट)मा आबद्ध छिन्, शर्मा । जहाँ भुस्याहा कुकुरलाई लगेर बन्ध्याकरण गरेर फेरि पुरानै ठाउँमा छाडिन्छ । पहिले त्यस्ता कुकुरलाई नगरपालिकाले ‘लड्डु’ खुवाएर मार्ने चलन थियो । तर, एकजना विदेशी जीवअधिकारवादीले ‘कुकुर मार्नुभन्दा त बन्ध्याकरण गरे उत्तम हुन्छ’ भनेपछि क्याटको सुरुवात गरेको उनी बताउँछिन् । हाल उनी क्याटकी अध्यक्ष छिन्।

 

विविध कुराबाट प्रभावित हुनु मान्छेको स्वभाव नै हो । उनी दरबारमा ‘कन्या’ भएर गइन् । दरबारले सही ढंगले, सही तरिकाले काम गर्न सिकाएको उनी सम्झिन्छिन् । लक्ष्मी अपवाद हुन्, जो जीवनमा केही कुराबाट पनि प्रभावित भइनन् । उनका हरक्रियाकलाप आवश्यकताले निर्धारण गरिदियो । वैवाहिक जीवन राम्रो भएन । तीनजना छोरीहरू जन्माइन् । त्यसपछि श्रीमान्ले छाडे । तीन छोरीलाई काखमा बोकेर सपनाको सहरमा पुर्‍याउने जिम्मेवारी उनको काँधमा आयो ।

लोग्नेले छाडेपछि एउटा महिलाको हालत के हुन्छ होला ? हाम्रो जस्तो संकुचित समाजमा त निकै दयनीय हुने गर्छ । झन् त्यसवेला कति गाह्रो थियो होला ? ‘म विचलित भइनँ, दोस्रो बिहे गर्ने सोच पनि बनाइनँ,’ उनले भनिन्, ‘यस कारण कि जिन्दगीको दौड एक्लै जित्छु भन्ने लाग्यो ।’ हिम्मत र साहसको पर्खालजस्तै लाग्छिन्, लक्ष्मी शर्मा । यसका लागि पनि उनी दरबारलाई नै धन्यवाद दिन्छन् । जसले त्यो हिम्मत र आँट गर्न सिकाएको थियो ।

लक्ष्मी शर्मा नेपालको पहिलो महिला टेम्पो चालक हुन् । उनको यो परिचय टेम्पो चालकमा मात्रै सीमित छैन । टेम्पो चालकबाट अन्तर्राष्ट्रिय स्तरको उद्योगीका रुपमा लक्ष्मी शर्माले आफ्नो नाम स्थापित गर्नुभएको छ ।

१३ बर्षको कलिलो उमेरमा बैवाहिक जीवना बाँधिएकी शर्मा त्यतिवेला अन्तरजातिय विवाह गरेपनि त्यसले उनको जीवनमा नराम्रो प्रभाव प-यो । तर त्यतिवेला उनको तीन छोरी जन्मिसकेका थिए । विवाह गरेपछि उनको लोग्नेले दिएको भौतिक, मानसिक र सामाजिक यातनाले गर्दा पनि आज लक्ष्मी शर्मा आफुले केही गर्नुपर्छ भन्ने हेतुले आफ्ना दुःखदायी संर्घषका दिनहरु गुर्जादै अन्तर्राष्टिय स्तरको उद्यमीका रुपमा स्थापित भएकी हुन् ।

०३७ सालमा टेम्पो किन्न चाचचुन ९ हजार रुपैयाँजति लाग्यो । उनले ड्राइभर राखेकी थिइन् । बिस्तारै उनले टेम्पो थप्दै गइन् । पाँचवटासम्म पुर्‍याइन् । पाँचवटा पनि यत्तिकै पुगेन । उनले धेरै हन्डर खानुपर्‍यो । त्यतिवेला यसरी टेम्पो खरिद गरिन् कि जहाँ उनको इगोेले जित्यो । बोल–कबोलमा थियो, टेम्पो । बोल–कबोलमा उनले अरू पुरुष टेम्पो साहूहरूसँग भिड्नुपर्‍यो । १२ हजारबाट सुरु भएको बोल–कबोलमा उनले ३२ हजार लाएर त्यतिवेला टेम्पो किनिन् । भन्छिन्, ‘मलाई इगोले हार्न दिएन त्यतिवेला,’ उनी थप्छिन्, ‘तेस्रो विश्वमा गरिबलाई उकास्नेभन्दा पनि झनै दास बनाउने प्रवृत्ति छ । त्यतिवेला उनीहरूले ‘यो आइमाईलाई हराउनुपर्छ’ भनेका थिए, तर मैले जितेँ ।’

प्रायः टेम्पो बिग्रिरहने भएकाले उनी सधैँ ग्यारेजमा बस्नुपथ्र्यो । त्यसकारण उनी मिस्त्री पनि भइन् । पैसा कमाउँला, ड्राइभरलाई पनि दिउँला भन्दा त ड्राइभरहरूले कमाइ भएन भनेर पैसा दिनै छाडे । भन्छिन्, ‘हाम्रो समाज यस्तो छ कि कोही व्यक्तिसँग केही छैन भने समाजले हेर्दा पनि हेर्दैन, तर केही भएकालाई निकै खातिरदारी गर्न चाहन्छ ।’ त्यसपछि उनले आफैँ टेम्पो चलाउन थालिन् । तर, त्यसवेला उनीसँग लाइसेन्स थिएन । ०४१ साल चैत १४ गते लाइसेन्स लिइन्, लक्ष्मीले ।

पीडादायी भोगाइ कसको जिन्दगीमा हुँदैन र ! टेम्पो चलाउँदाका नमीठा घटनाहरू छन्, उनीसँग पनि । दुनियाँ उनलाई अचम्मको लाग्छ । भन्छिन्, ‘कि त दासी बनाउँछ, कि त अगाडि बढ्नै दिँदैन । एउटी महिलाले पुरुषहरूसँग भिडेर टेम्पो ल्याउनु चानचुने कुरा थिएन, त्यो समयमा ।’

एकदिन उनले विश्वज्योति हलअगाडि महिलाका लागि मात्र भनेर टेम्पो रोकेर राखेकी थिइन् । असनतिरबाट ६/७ जना ‘गुन्डा’ आएर ‘आइमाईका लागि मात्र राख्ने तैँले’ भन्दै उनको टेम्पो कच्याककुचुक बनाएर पल्टाइदिए । ‘त्यो समयमा मसँग कन्फिडेन्स थियो,’ ६९ वर्षको उमेरमा पनि जोसिँदै सुनाउँछिन्, ‘मान्छेलाई कसरी ठीक लाउने भनेर क्लास लिएकी थिएँ । त्यसपछि मैले त्यो मेथड लगाएँ र उनीहरू भागे ।’ तर, त्यसवेला उनलाई कसैले सहयोग गरेन । पुलिसले पनि गरेन । पछि, छोरीले नै टेम्पो नचलाउनू भनेपछि उनले टेम्पोमा कम र ‘लक्ष्मी उड क्राफ्ट’ उद्योगमा बढी समय दिन थालिन् । उनलाई यो उद्योगले धेरै माथि पुर्‍यायो । अन्तर्राष्ट्रिय स्तरमा चिनायो ।

समस्याले मान्छेलाई कहिल्यै छाड्दैन । त्यतिवेला पनि उनले तमाम सामाजिक समस्याको सामना गर्नुपर्‍यो । उनी ठमेलतिर ह्याडिक्राफ्ट सामान पुर्‍याउँथिन् । एउटा पसलेले उनको पैसा दिएन, सामान पनि दिएन । इन्डियाबाट कामदार ल्याएकी थिइन् । उनीहरूलाई तलब खुवाउनुपथ्र्यो । आक्रोश पोख्दै भन्छिन्, ‘बेचेर खाइसकेछ, त्यसले ।’ एकदिन उनी पैसा उठाउन गइन् । त्यो पसलेले त दुईजना गुन्डा राखेको रहेछ । पहिलो गुन्डाले उनको मुखमा चुरोटको धुवाँ फुस्स फाल्यो । ‘यो के गरेको’ भन्दा अर्कोले उनको मुखमा हिर्काएछ ।

अहिले पनि त्यो घाउको खत उनको माथिल्लो ओठमा छँदै छ । रगत बगेर सेतो कुर्ता रक्ताम्य भएछ ! त्यस दिन ठमेलको नर्सिङ चोकमा उनलाई कसैले सहयोग गरेनन् । यसो भन्दै गर्दा उनका आँखा टिलपिलाएका थिए । ‘त्यसपछि किचिदिन्छुु भनेर टेम्पो हुइँक्याएपछि ती गुन्डा कुन गल्लीमा भागे थाहा पाइनँ,’ भन्छिन्, ‘यो दुनियाँमा मैले के–के मात्रै भोगिनँ होला, जीवनमै पिटाइ खाएको त्यो नै पहिलोपटक हो ।’

३४ वर्ष भयो, ‘लक्ष्मी ह्यान्डी क्राफ्ट’ सञ्चालन भएको । यतिन्जेलसम्म लक्ष्मी ह्यान्डी क्राफ्टसँग ६ सयजना मान्छे जोडिइसकेका छन् । कसैले आफैँ सञ्चालन गरिरहेका छन् । यति लामो यात्रामा जोडिएका मान्छेबारे बताउँदा उनको अनुहार उज्यालो भएको थियो ।

त्यतिबेला महिलाहरु अपहेलना, डरपोक र पुरुषको साहारामा मात्र बाच्न सक्छन् भन्नेहरुका लागि लक्ष्मी शर्मा एक उदाहरणीय पात्र हुन् । यो अवस्थामा आइपुग्दा लक्ष्मी शर्माले नांगो खुटा हिड्ने देखि लिएर आफ्नै श्रम र सीपले चलाएको टेम्पोको भाडा माग्दा पूरुषभन्दा महिलाबाटै गरिएका व्यवहार र शोषणका शब्दहरु उनको कानमा अझै पनि गुज्रिरहेको छ । आफुले भोगेको दुः ख को कारण होला उनले आफ्नो कारखानामा काम गर्ने महिलाहरुका बच्चाहरुलाई आफुले जन्म दिएका बच्चाहरु झै समान माया गरेर राख्दै आईन् ।

पेट पाल्नलाई बाल्यकालमा तत्कालिन राजा त्रिभुवनकी छोरी बुनुको स्याहारेदेखि लिएर कैयौ विदेशीको घरमा भाडा माझन बाध्य हुनभएकी शर्मा आफ्नो कडा संघर्ष र लगनले गर्दा उनी अहिले टेम्पो चालक र टेम्पो व्यवसायीबाट अन्तर्राष्टिय स्तरको ख्याति प्राप्त करोडौको कारोबार गर्ने उद्यमी का रुपमा स्थापित भएकी छिन् । उनको उद्योगमा प्रत्यक्ष र अप्रत्य रुपमा ४ सय देखि ४ हजारसम्म मानिसहरुले रोजगारको अवसर प्राप्त गरेका छन् ।
आफ्नो जीवनमा जम्मा तीन दिन स्कुल जानुभएकी लक्ष्मी शर्माले सुरुमा टेम्पो चलाए पनि टेम्पो चालकबाट ठग्ने र जान जानि ट्म्पोका सामान विगारेर ठुलो क्षति देखाई पैसा नबुझाउने भएकाले आफुले मेकानिकल तालिम लिने इच्छाले जयसवाल अटोरिक्साको सिफारिसमा भारतको बनारसको चौकाघाटमा साढे दुई महिनासम्म २०३९ सालमा टेम्पो बनाउने कोर्सको तालिम लिईन । उनले आफ्नो टेम्पो चलाएको अनुभवका कारण २०४१ साल चैत १४ गते चालक अनुमति पत्र प्राप्त गरिन् । त्यस ताका जमलदेखि बुढानिलकण्ठ १ बर्ष टेम्पो चलाई उनी नेपालको पहिलो महिला टेम्पो चालक भनेर चिनिन् ।

यद्यपि अहिले टेम्पो चालकको उहाँको कथा सम्झानाका रुपमा मात्र छ । आफुले भोगेका दुखका कारण अरुलाई पनि असाध्यै दुःखमा सहयोग गर्न चाहने लक्ष्मी शर्माले आफु टेम्पो चालकबाट माथि उठेर २०४३ सालमा विष्णुमति र धोवीघाटमा फ्याँकिएका राँगा र भैसीका वेवारिसे सिंग, र हाडखोर जम्मा गरेर टांँक लगायतका हस्तकलाका सामानहरु बनाउने पेशाको सुरुवात गरिन् । अहिले शर्माले आफ्नो नाममा दर्ता गरेको लक्ष्मी उड क्राफ्टमा लगभग १५ सय किसिमका विभिन्न हस्तकलाका सामाग्रीहरु उत्पादन हुन्छन् ।

राँगा र भैंसीका हाडबाट बन्ने टाँकहरु उनले विभिन्न देशहरुमा निर्यात गर्छिन् ।

आफ्नो व्यापारीक कामको शिलशिलामा तत्कालीन अमेरिकी प्रथम महिला हिलारी क्लिन्टनलाई समेत भेट्नु भएकी शर्मा सरकारले राँगाका हाडखोर र सिंगहरु विदे जानबाट रोकेमा नेपालमा धेरे काम गर्न सकिने दाबी गर्छिन् । लक्ष्मी शर्माले आफ्नो एकल मेहनतले गरेको कामले अहिले संसारका ठुला विकसित भनेर चिनिएका मुलुकले समेत उनका बटनहरु लिन होडबाजी गर्ने गर्छन् ।

अहिले उनले आफ्नो उद्योगमा एक चौथाई कर्मचारी महिला राखेकी छिन् । एक ताका काठमाडौका व्यापारीबाट एउटा अवला महिला भन्दै उपेक्षित समेत भएकी लक्ष्मी शर्मा अहिले सबैको उदाहरणको पात्र बनेकी छिन् ।
उनी टेम्पो चालक र उद्यमीका रुपमा मात्रै नभई समाजसेवीका रुपमा पनि परिचित छिन् । उनी व्यापारसँगै समाजमा रहेको अनेक खाले विभेद र अन्य वेसाहाराका लागि पनि उदाहरणीय पात्र हुन् । समाज सेवा गर्ने हेतुले उनले लक्ष्मी ट्रष्टको पनि स्थापना गरेकी छिन् । सोही संस्था मार्फत उनले अनाथ बालबालिका, वेसाहारा बृद्धबृदा र महिलाहरुका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेर नाम समेत कमाएकी छिन् ।
यद्यपि उनले लक्ष्मी उड क्राफ्ट उद्योगमा पनि त्यस्ता खाले व्यक्तिहरुलाई सिप सिकाएर त्यहीँ नै रोजगारीको अवसर जुटाएकी छिन् ।

समाजसेवा सानै देखिको शर्माको इच्छा भएपनि आफ्ना जीवनका आरोह अवरोहका कारण त्यस वेला गर्न नसके पनि अहिले आएर समाज सेवामा धेरै काम गर्ने उनको इच्छा छ ।

अर्को तिर लक्ष्मी शर्मा चित्रकार पनि हुन् । रहरले चित्र कोर्दा कोर्दै उनी चित्रकलाको रुपमा पनि परिचित छिन् । सन् १९७९ मा भारतको मुम्बईमा भएको चित्रकला प्रर्दशनीमा भाग लिदा उनी दोस्रो भएकी थिईन् । उनी फोटो ग्राफीमा समेत धेरै रुची राख्छिन् । देश विदेश जहाँ गएपनि उनले फोटो खिचेर संकलन गर्छिन् ।
अर्कोतिर लक्ष्मी शर्मा गीत संगितमा पनि धेरै अभिरुची राख्छिन् । उनी आफूलाई गायिकाको रुपमा पनि चिनाएकी छिन् । लक्ष्मी शर्माले ६५ बर्षको उमेरमा आफ्नो एकल गीति एल्बम समेत बजारमा ल्याईसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्