Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

सुनसरी–मोरङ सिंचाइ आयोजनाको करिब १३ बिघा जग्गा जोगीको कब्जामा



धरान । चतराका धार्मिक गुरु कृष्णदासले सुनसरी–मोरङ सिंचाइ आयोजनाको करिब १३ बिघा जग्गा कब्जा गरेका छन् । आयोजनाको जग्गा कब्जा गरि ८ करोड रुपैयाँको लागतमा १ सय २८ कोठे भवन निर्माण समेत निमार्ण गरेका छन् ।

नक्सा पास समेत नगरी अवैध संरचना निर्माण गरेको समाचार प्रकाशित भएपछि कृष्णदास वराहक्षेत्र नगरपालिकाको ढोका ढक्ढक्याउन पुगे । तर, वराहक्षेत्र नगरपालिकाले अवैध तरिकाले बनाईएको भवनलाई भवन निर्माण सम्पन्न प्रमाण–पत्र दिन अस्वीकार गरेपछि अहिले कृष्णदास सकसमा परेका छन् । ‘सरकारी जग्गामा भवन निर्माण गरेका कृष्णदासलाई वराहक्षेत्र नगरपालिकाले भवन सम्पन्नताको प्रमाण–पत्र दिने कुरै भएन’ –वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले भने ।

निर्माण शुरु गर्दा कृष्णदासले स्थानीय तह, वराहक्षेत्र नगरपालिकाको घरनक्सा शाखा र प्राविधिकलाई कुनै जानकारी नदिई आफूखुशी बनाएका थिए । उनले भवन निर्माण गरेर राष्ट्रपतिबाट गत फागुन २७ गते उद्घाटनसमेत गराएका थिए । सुनसरी–मोरङ सिंचाइ आयोजनाको स्वामित्वमा रहेको जग्गा कब्जा गरेर निर्माण गरेको भवनको आधिकारिक कागजपत्र निर्माण सम्पन्नताको प्रमाण–पत्र नभएपछि कृष्णदासले वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई गुहारेका थिए । प्रमुख खनालले सुनसरी–मोरङ सिंचाइ आयोजनाको जग्गामा निर्मित भवनको निर्माण सम्पन्न प्रमाण–पत्र दिन नसक्ने बताएपछि कृष्णदास तिल्मिलाउन पुगेका हुन् ।

कृष्णदासले ०६४ सालमा सिंचाइ आयोजनाको वराहक्षेत्रस्थित चतरा नहरको पश्चिमको १२ बिघा ८ कठ्ठा १९ धुर जग्गा कब्जा गरेर कतै नभएको जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ स्थापना गरेर त्यसैमा भवन निर्माण गरेका थिए । स्थानीय तहका प्राविधिकले जग्गा निक्र्यौल गरेपछि के कति तलाको, कस्तो किसिमको घर निर्माण गर्ने हो, सोहीअनुसार अनुगमन गरेर घर निर्माण पूरा भएपछि निश्चित कर लिएर मात्र निर्माण सम्पन्नको प्रमाण–पत्र दिने वैधानिक नियम छ ।

तर, कृष्णदासले पहिले अर्काको स्वामित्वको जग्गा कब्जामा लिए, त्यसपछि नगरपालिकाको स्वीकृति नलिई आठ करोड रुपैयाँ लागतको भव्य घर बनाए । कृष्णदासले भवन निर्माण र घर नक्सा पास गर्न गएपनि नगरपालिकाले स्वीकृत गर्ने अवस्था भने थिएन । नगरप्रमुख खनालले भने, ‘त्यो जग्गा आयोजनाको स्वामित्वको हो । भवन बनाउँदा आयोजनाले आफै बनाउने हो, स्पष्ट पारे ।

आफूलाई आयुर्वेदको ज्ञाता बताउने र विद्यावारिधि गरेको भनेर प्रचार गर्दै हिड्ने कृष्णदासले वराहक्षेत्रमा हरित क्रान्ति ल्याउने, धार्मिक तीर्थस्थलको रूपमा विकास गर्ने, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडिबुटी प्रशोधन र उत्पादन गर्ने बताउँदै आयोजनाको जग्गामा भवन निर्माण गरेका हुन् ।

नगरप्रमुख खनालले भवन निर्माण थाल्दा आफूलाई जानकारी नदिएको र घरनक्सा पासका लागि नगरपालिकामा कुनै निवेदन समेत नदिएको बताए । उनले भने, आफूखुशी भवन निर्माण गरेपछि कृष्णदासले भवन निर्माणको वैधानिकता खोजिरहेको खनालले बताए ।

सुनसरीको हरिपुरबाट मधेशी टाइगरले ०६४ कार्तिकमा सशस्त्र द्वन्द्व चर्काउँदा खेदिएका ५८ परिवारमध्ये ४२ परिवार आयोजनाको चतरा नहरको डिलमा बसेका थिए । तिनीहरू सबैलार्ई प्रहरी प्रशासन लगाएर उठाइएको थियो । तर कृष्णदासलाई प्रशासनले पनि हटाउन नसकेको विस्थापित पीडितले बताए ।

कृष्णदासले भवन निर्माण सम्पन्नताको प्रमाण–पत्र खोजिरहेको बेला सुनसरी–मोरङ सिंचाइ आयोजना प्रमुख हरिराम श्रेष्ठले उक्त भवन रहेको जग्गा आयोजना स्वामित्वको रहेकाले यहाँ निर्माण भएको भौतिक संरचना हटाउन र अरु नयाँ बन्न नदिन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखिसकेका छन् । उनले भने, ‘योजनालाई नै जग्गा अपुग भइरहेको बेला त्यहाँको पुरानो संरचना हटाउन र नयाँ बन्न नदिन जिल्ला प्रशासनलाई चिठ्ठी लेखेका छौं ।’ उनले आयोजनाको जग्गा कब्जा भएको र त्यसमा विभिन्न भौतिक संरचना निर्माण भएको बारे मन्त्रालयमा औपचारिक अनौपचारिक जानकारी दिएको बताए ।

उनले भने, ‘सुनसरी र मोरङका हजारौं किसानलाई राहत दिन चतरा नहर निर्माण गरिएको हो, कोशीको पानी नहरमा ल्याउन चतरामा इन्टेक बनाइएको छ, त्यहाँ आयोजनाको स्वामित्वको जग्गा छ, हाल निर्माण भएको भवन आसपासमा पाँच स्थानमा ड्रेजर मेसिनले फालेका बालुवा बगाउने पाइपलाइन विस्तार भएका छन् । भविष्यमा अरू धेरै काम हुन बाँकी नै छ ।’ कृष्णदासले आयोजनाको सहमति बेगर पहुँचमा माथिल्लो तहका नेताले मौखिक रूपमा भोगाधिकार गर्न दिएको आधारमा भवन निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्