
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गाका किसानलाई मोहियानी हक दिन माग गरेका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा शुक्रबारदेखि शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’ को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छे गुठी जग्गामा मोही किसानले नै पाउनुपर्नेमा जोड दिएका हुन् । जग्गाबाट उठेको कर जनताकै लागि खर्च गर्नुपर्ने उनको भनाई थियो ।
ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको राजनीतिक, आर्थिक र भौतिक शक्ति समाज केन्द्रित गर्दै लैजानुपर्ने बताए।
आर्थिक ऐन संशोधन गरी कालो सूचीमा परेकालाई समेत बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको पाँच वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायत व्यवस्थालाई महिना दिन नबित्दै खारेज गर्नु वेइमानी भएको उनले बताए ।
भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले नगरपालिकाले भक्तपुरको कला–संस्कृति संरक्षण तथा सम्पदा पुनःनिर्माण तीव्ररुपमा अगाडि बढिरहेको बताए।