
आफ्नै छोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ परेका उपसचिवलाई थुनामा राखेर अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ । ललितपुर धोविघाट बस्दै आएका ती उपसचिवलाई सोमबार प्रहरीले पक्राउ गरी अदालत लगेको थियो ।
जबरजस्ती करणी उद्योगमा उनलाई पहिलोपटक पाँच दिन थुनेर अनुसन्धान गर्न प्रहरीलाई मंगलबार अदालतले अनुमति दिएको हो । ४५ वर्षीय ती उपसचिवलाई महानगरीय प्रहरी परिसर ललितपुरले सोमबार साँझ नियन्त्रणमा लिएको थियो । परिसरका अनुसार पछिल्लो पटक १९ जेठमा उनले १८ वर्षीया छोरीलाई जबरजस्ती करणी प्रयास गरेका थिए ।
पटक–पटक छोरीलाई करणी प्रयास गरेपछि सहन नसकेर ती युवती आमालाई लिएर ललितपुर परिसरमा जाहेरी दिन गएकी थिइन् । पक्राउ परेका उपसचिवलाई जबरजस्ती करणी उद्योगमा ललितपुर जिल्ला अदालतले पाँच दिनको म्याद दिएपछि हिरासतमा राखेर अनुसन्धान थालिएको जनाइएको छ ।
यो आरोपमा ती उपसचिवमाथि ‘हाड नाता करणी’ मुद्दा आकर्षित हुन सक्छ । मुलुकी अपराध संहिता २०७४ अनुसार आमा छोरा वा बाबुछोरीबीच करणी भएमा जन्मकैद सजाय हुने व्यवस्था छ । यही प्रकरणको जबरजस्ती करणी उद्योगमा त्यसको आधा सजाय हुने व्यवस्था छ । घटना अनुसन्धानमा जे आकर्षित हुन्छ सोही बमोजिम अदालतमा मुद्दा लगीने छ ।