
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन समावेशी नभएको भन्दै स्थगित गर्न दिएको निर्देशनबारे अझ केही समय आयोगमा छलफल नहुने भएको छ । आयोगका अध्यक्ष उमेश मैनाली बिदामा रहेको र सदस्यहरू पनि उपत्यका बाहिर रहेकोले बैठक कहिले बस्छ भन्ने यकिन छैन । आयोगको स्थापना दिवस असार १ मा भएकोले त्यसको आसपासमा बैठक बस्न सक्ने आयोगले जनाएको छ । तर आयोगका अध्यक्ष मैनाली स्वदेश आएपछि मात्रै बैठकबारे तय हुनेछ ।
अध्यक्ष मैनाली श्रीमतीको उपचारको क्रममा भारतमा रहेको तथ ाअनय सदस्यहरु पनि काठमाडौं बाहीर रहेका कारण तत्काल बैठक बस्न नसक्ने जनाइएको छ । आयोगले १५ जेठमा स्थानीय तहका लागि प्राविधिक र अप्राविधिक पदमा ९ हजार एक सय ६१ जना पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । सो विज्ञापन समावेशी नभएको भन्दै विरोध भइराखेको छ भने आयोग तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान अनुसार नै विज्ञापन आएकोले रद्द नहुने बताउँदै आएका छन् । नौ हजारका लागि खुलाइएको विज्ञापनमा ८५ हजारभन्दा बढीले आवेदन दिइसकेका छन् । अझै एक साता आवेदनका लागि समय भएकोले यो संख्या बढ्ने देखिएको आयोगले जनाएको छ ।
संघीय मामिलाले पाँच सय ५५ स्थानीय तहबाट आएको मागअनुसार पदपूर्तिका लागि आयोगलाई सिफारिस गरेपछि विज्ञापन खुलाइएको थियो ।