Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

ल हेर्नुस, एउटा अचम्मको नागरिकता, एउटै व्यक्ति विवाहित अनि अविवाहित पनि



उदयपुर । एउटै व्यक्तिले फरक फरक जिल्लाबाट फरक फरक शैलीको नागरिकता बनाएको खुल्न आएको छ । उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी हुन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् ।

कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ । दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचय फेरेकी छिन् । दर्वजित राई र मनसरी राईकी छोरी धनमायाको जन्म ४ वैशाख ०५२ मा भएको नागरिकतामा उल्लेख छ ।

धनमायाको ०६७ मा जातीय परम्पराअनुसार सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि हालको दुधौली नगरपालिका साबिकको ककुर ठाकुर गाविसमा विवाह दर्ता भयो । विवाह दर्ताअनुसार श्रीमानको नामबाट नागरिकता लिइन् । सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २३ माघ ०६९ मा पतिको नाममा लिएको २०र०१ र ६९ र ०३३७५ नम्बर भएको नागरिकतामा धनमाया राई नाम उल्लिखित छ ।

कटारी–४ गबुवा घर भएकी धनमायाले इलाका प्रशासन कार्यालयबाट शीतल राईको नामबाट दोहोरो नागरिकता लिएको खुलेको हो । उनलाई अविवाहित नागरिकता बनाउन कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् ।

वडाध्यक्ष दनुवारले धनमायालाई शीतल राईको नामबाट नागरिकता दिन जन्ममिति सिफारिससमेत गरेका थिए । जन्ममिति सिफारिस गर्न सर्जमिन मुचुल्का गर्नुपर्ने भए पनि दनुवारले आफैँले सिफारिस गरिदिएको पाइएको छ । इलाका प्रशासन कार्यालय कटारीबाट शीतल राईको नाममा लिएको १४र०२र७४र०१४१२ नम्बरको नागरिकता उनले हाल प्रयोग गर्दै आएकी छिन् । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्