राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन विरुद्ध आन्दोलन
स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनको विरोध गर्दै मङ्गलवारदेखि काठमाडौँमा आन्दोलन सुरु भएको छ ।
लोक सेवा तयारी तदर्थ सङ्घर्ष समिति, नेपालले राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकार र लोक सेवा आयोगलाई दिएको सो निर्देशन मान्य नहुने चेतावनी दिँदै काठमाडौँको माइतीघर मण्डलामा मङ्गलवार बिहानदेखि आन्दोलन सुरु गरेको हो ।
सङ्घर्ष समितिमा आबद्ध विद्यार्थीहरूले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध सो निर्देशन दिएकाले त्यसका विरुद्ध सडक सङ्घर्ष सुरु गर्नु परेको बताएका छन् । उनीहरूले राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्म विपरीत लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि विज्ञापन खुलाएको निष्कर्ष निकाल्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।