
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले पार्टीमा अन्तरविरोधले उग्र रुप लिँदै गएको दाबी गरेका छन् । लुम्बिनी प्रेस क्लब रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै भुसालले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्नुपर्ने गरि पार्टी बन्न नहुने बताए ।
दुई अध्यक्ष बीच ढोका थुनेर बन्द कोठामा गरिएको सहमति र छलफल के थियो भन्ने जानकारी पार्टीमा हुनुपर्ने उनले बताए । ९५ प्रतिशत बहुमत विधिले संचालन हुनुपर्ने भए पनि पार्टी विधिमा जान नसकेकाले यसको जवाफ दुवै अध्यक्षले दिनस पर्ने भुषालको कथन थियो । उनले पार्टीका दुईजना अध्यक्ष बीचको सहमति कसको पक्षमा छ भनेर खोजिनु भन्दा ठूलो कुरा विधिको भएको बताए ।
पार्टीमा नियम विधिले भन्दा केही सिमित व्यक्तिको स्वेच्छाचारी प्रवृति हावी हुने गरेको आरोप समेत उनले लगाए ।