Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

भीमादरबार संरक्षणको पर्खाइमा



बागलुङ काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित ऐतिहासिक र प्रचारप्रचारको पर्खाइमा छ ।
नेपाल एकीकरण हुनुपूर्व बाइसे चौबिसे राज्यमध्ये भीमापोखरा राज्य पनि एक हो । भीमापोखरा राज्यका राजा बस्ने दरबारको भग्नावशेषको संरक्षण र प्रवद्र्धन नहुँदा कैयौँ संरचना हराएर गएको छ ।
पर्यटकीय र ऐतिहासिक अध्ययन गर्नेका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने यो दरबार संरक्षणको पर्खाइमा छ । भीमपोखराको भीमारानी दरबारको संरक्षण र प्रचारप्रसार गर्न सकेमा यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्छ । भग्नावशेषको रुपमा मात्र रहेको यो दरबारको संरक्षण र यसको इतिहास खोजी गर्नसकेमा धेरैको आर्कषणको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ ।
स्थानीय बासिन्दा र वडा तहको पहलपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले यसलाई पदमार्गसहितको पर्यटकीय गन्तव्य बनाउने अभियान थालेको छ ।
यो एतिहासिक दरबारको संरक्षणका लागि पहल थालिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । “यो वर्ष दरबारसम्म पुग्ने पदमार्ग बनाउन लागि रु आठ लाख बजेट विनियोजन गरेर काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “एकै पटक सबै काम गर्न सकिने कुरा भएन, विस्तारै दरबारको महत्व झल्किने गरी काम अघि बढाउँछौँ ।”
भौगोलिक रुपमा आर्कषक क्षेत्र भएकाले इतिहास सम्झाउने र सांस्कृतिक सम्पत्तिको संरक्षण गर्ने भन्दै प्रारम्भिक रुपमा अभियान थालिएको हो । “ यसको संरक्षण गरेर पर्यटक भित्र्याउन सकिन्छ भनेर शुरुआत गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयोे, “ यो क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर सोहि अनुरुप कार्यक्रम अगाडि बढाइनेछ ।” दरबारको प्रचारप्रसार गरेर यहाँ आउने पर्यटकका लागि खान बस्ने व्यवस्थासहितको घरबासको तयारीसमेत गाउँपालिकाले थालेको छ ।
यसअघि पनि साविकको भीमापोखरा गाउँ विकास समितिले दरबारको संरक्षणका लागि केही रकम विनियोजन गरेर तारबार र पर्खाल लगाउने काम गरेको थियो । भग्नावशेष रहेको क्षेत्रमा पुरानै दरबारजस्तै दरबार बनाउनका लागि सानो लगानीले सम्भव नहुने भए पनि गाउँपालिका तथा वडास्तरबाट सानोसानो लगानी गरेर संरक्षणको अभियान थालिएको वडासचिव विष्णुप्रसाद शर्माले बताउनुभयो ।
विसं १८१५ मा यहाँ चौबीसे राजामध्येका दीर्घनारायण मल्ल र उनकी रानी भीमाले राज्य गरेको इतिहास छ । भीमा रानीकै सम्झनामा अहिले पनि यो ठाउँ भीमापोखरा नामले परिचित छ । आफ्ना श्रीमान्को मृत्युपछि विसं १८४३ मा छोरा गणेशबम मल्ल राजा भएका थिए । गणेशबम मल्लकै शासनकालमा बहादुर शाह र अमरसिंह थापाको फौजले यो राज्य कब्जा गरेको थियो । राज्य विलय भएपछि भीमा रानीले पोखरी खनेको ऐतिहासिक किंवदन्ती छ । उक्त पोखरीलाई अहिले पनि भीमा पोखरी नामले चिनिन्छ ।
नेपालको ऐतिहासिक रुपरेखा र सहप्राध्यापक विष्णु मैत्रेयको बागलुङको सेरोफेरो नामक कृतिमा पनि भीमा पोखराको इतिहास लेखिएको छ । दरबारको भग्नावशेष रहेको जमीन अग्लो रहेको र यहाँ राजा महाराजाका सबैखाले बैठक तथा अन्य कक्ष सञ्चालन गर्न मिल्ने संरचना रहेकाले इतिहाससँग मिल्दोजुल्दो रहेको स्थानीय खिमबहादुर कार्कीले बताउनुभयो । “इतिहासलाई संरक्षण गर्दा अध्ययन अनुसन्धानमा सहयोग पुग्ने देखेर हामीले संरक्षणको अभियान थालेका हौँ” स्थानीय चन्द्रमणि शर्माले भन्नुभयो, “पर्यटकीय गन्तव्य बनाएर अब गाउँमा आर्थिक समृद्धि ल्याउन पनि काम थाल्छौँ ।”
भीमा पोखरा पुग्न मध्यपहाडी लोकमार्गको अक्षेतेबाट ३० मिनेटको यात्रा गर्नुपर्ने हुन्छ । उक्त दरबार अहिले कच्ची सडकले जोडिएको छ । “अब सडक स्तरोन्नति गरेर सवारी चढेर आउनेलाई सहज बनाइनेछ”, वडाध्यक्ष विद्यापति शर्माले भन्नुभयोे, “पदमार्गमार्फत रमाएर आउनेलाई पनि वैकल्पिक मार्ग बनाउन काम थालिसकिएको छ ।”
दरबारकै वरिपरि वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालय छन् । विद्यालयको नाम पनि भीमा दरबार रहेकाले यो ऐतिहासिकस्थल भएको अध्यक्ष बताउनुहुन्छ । कोत, घण्टाघर, सुरक्षाकर्मीले पहरा दिने कोठा र चोक भएकाले त्यस्ता भग्नावशेषलाई दरबारकै रुपमा उठाउनसमेत सकिने स्थानीयवासी बताउँछन् ।
“केही लगानी र डिजाइन गर्ने हो भने पुरानो दरबार तयार हुन्छ”, स्थानीय युवा अर्जुन कार्कीले भन्नुभयो, “गाउँको विकास भनेको सडक खनेर मात्र हुँदैन, खोजी र अनुसन्धानको केन्द्र पनि बनाउन सकिन्छ ।” यहाँको बसाइँसराइ रोक्नका लागि पनि पर्यटकीय महत्वका क्षेत्रको संरक्षण गरेर पर्यटक भित्र्याउने योजना बनाउन आवश्यक भएको वडाध्यक्ष शर्माले बताउनुभयो ।  (रासस)
प्रतिक्रिया दिनुहोस्