
नेपाली कांग्रेसको भातृ सगठन नेपाल तरुण दलले प्रहरी नियन्त्रणमा रहेका तरुण दल धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) लाई रिहाइ गर्न माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका छन् ।
२२ जेठमा धादिङ रोलाङ गाउँपालिकामा गाउँलेबीच विवाद भएको घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको उनले बताए । गाउँलेको झगडा छुट्याउन गएका स्थानीय जनक मगरले घटनामा भण्डारीको संलग्नता नरहेको बताए पनि प्रहरीले कीर्ते कागज बनाएको बस्नेतले आरोप लगाए ।
फरक राजनीतिक विचार भएकै आधारमा सरकारले भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ । घटनामा संलग्न नरहेका भण्डारीलाई पक्रने धादिङ प्रहरीलाई पनि तरुण दलले कारबाहीको माग गरेको छ । भण्डारीलाई रिहाइ नगरे देशब्यापी आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ ।