
बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।
घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको उनले जानकारी दिए। करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ। हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन् । हावाहुरीले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति र्पुयाएको छ। हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ। हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
बिहीवार साँझ सुदुरपश्चिमबाट सुरु भएको हावा हुरी बर्दिया हुँदै पूर्व लागेको थियो। हावाहुरीका कारण कैलालीमा दुई जनाको मृत्यु भइसकेको छ ।