Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

नेपाल क्षेत्रीय वा ग्लोवल सैनिक ब्लक बनाउने पक्षमा छैनः पोखरेल



त्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले गत स्थायी समितिमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी केन्द्रीय सचिवालयलाई ‘कोर अफ लिडरसिप’ (नेतृत्वको केन्द्र) भनेका छन्। त्यही ‘कोर अफ लिडरसिप’ का एक सदस्य हुन् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकका लागि स्वीट्जरल्याण्डको डाभोसमा रहेकाले बरिष्ठ उपप्रधानमन्त्रीका हैसियतमा पोखरेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्वेवारीपनि सम्हालिरहेका छन्।

उप्रधानमन्त्री पोखरेलसँग कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, उनको सम्हालेको रक्षा मन्त्रालय, नेकपाको आन्तरिक जीवन, सरकारको कामकारवाही, राष्ट्रिय सुरक्षा नीति परिमार्जनको तयारी, पछिल्लो समय चर्चामा रहेको अमेरिकी ‘इण्डो-प्यासिफिक स्ट्राटेजी’ र त्यसमा नेपालको संलग्नता लगायतका विषयमा नेपालखबरले लामो कुराकानी गरेको छ।

प्रस्तुत छ, उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँग सीताराम बरालले गरेको कुराकानीको सम्पादित अंश:

‘पार्टीमा बहुकेन्द्रको अहिलेपनि विरोधी हुँ’

एमालेमा छँदा तपाईं जुन प्यानलबाट महासचिव उम्मेदवार हुनुभयो, त्यही प्यानलको अध्यक्षले जित्ने स्थिति रह्यो। ‘लो–प्रोफाइल’ मा हुनुहुन्छ। किन होला?
जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी योग्यतापूर्वक पुरा गर्नुपर्छ भन्ने मान्यता राख्छु म। आर्थिक विभागमात्र लिँदा राम्रो हुने, संगठन विभाग लिँदामात्र राम्रो जिम्मेवारी पाएको हुने भन्ने मलाई लाग्दैन।

जे जिम्मेवारी पाएपनि राम्रोसँग काम गरियो भने त्यही राम्रो जिम्मेवारी हो। अहिले रक्षा मन्त्रालयको जिम्मेवारी पाएको छु, मैले यहाँ राम्रो गर्न सक्नुप¥यो। त्यसैले, यो वा त्यो मन्त्रालय मालदार वा यो वा त्यो जिम्मेवारी राम्रो भन्ने मेरा लागि हुँदैन।

तपाईंको चाहना त अर्थ मन्त्रालयकै थियो नि, होइन र?
मेरो ‘सिनियारिटी’ को आधारमा मैले कुन जिम्मेवारी पाउने भनेर साथीहरुले छलफल गर्नुभएको थियो। त्यसमा मपनि सहभागी भएको थिएँ। यस्तोमा व्यक्तिगत चाहनाको कुरा हुँदैन। जिम्मेवारी लिइसकेपछि, पाइसकेपछि त्यो जिम्मेवारी योग्यतापूर्वक पुरा गर्ने भन्ने कुरा हुन्छ।

नेकपा महासचिव बिष्णु पौडेलले पाइसकेपछि किन गुनासो गर्नुभएको!
मैले कहिल्यै गुनासो गरिन। मेरो कुनै गुनासो थिएन पनि। पार्टी एकता गरेर नयाँ ढंगले जाने भनेर हामी अघि बढेका छौँ। म मन्त्रीपनि थिएँ। यस्तोमा गुनासो गर्ने भन्ने कुरा आउँदैन।

तर, अन्तरिम विधान बनाउनेमध्येको एकजना मपनि हुँ। अन्तरिम विधान बनाउने क्रममा दुईवटा अध्यक्ष राख्ने, बाँकी कार्यविभाजन चाहिँ कमिटीको बैठक राखेर गर्ने भन्ने थियो। पार्टी एकता संयोजन समितिले त्यही विधान पारित गरेको थियो।

आफ्नो–आफ्नो (एमाले र माओवादी केन्द्र) स्थायी समितिमा त्यही विधान पारित भएको थियो। तर, पछि एकताको बैठक हुने बेला त्यो (महासचिवपनि बनाउने) प्रस्ताव आयो। त्यो चाहिँ अलिक सुहाउँदिलो भएन कि भन्ने मलाई लागेको हो।

तैपनि, ठीकै छ, आआफ्नो जिम्मेवारी जो जहाँ छ, त्यो योग्यतापूर्वक पुरा गर्ने हो। आफूले पाएको जिम्मेवारी मैले योग्यतापूर्वक पुरा गरिरहेको छु।

बिष्णु पौडेलले महासचिवको जिम्मेवारी पाउँदा तपाईं असन्तुष्ट भएको चर्चा कसरी चल्यो त?
आधार नभएको कुराको समाचार कसैले लेखिदियो होला। अरुले लेखेको समाचारको विषयमा मैले के भन्नसक्छु र? तर, मैले के गर्नुपर्छ, मेरो जिम्मेवारी के हो भन्ने कुरा राम्रोसँग बुझ्छु। पदद्वारा प्राप्त गर्ने परिचयमा म त्यति विश्वास गर्दिन। कर्मद्वारा प्राप्त गर्ने परिचय नै मेरालागि ठूलो कुरा हो।

पार्टी एकताका बेला प्रचण्डलाई अध्यक्ष मान्न सकिन्न भन्ने अभिव्यक्तिका कारण चर्चामा आउनुभयो। किन त्यसो भन्नुभयो?
मैले त्यो कहिल्यै कहीँ भनिन। यो कुरा म दावीका साथ भन्न सक्छु। यो कुरा तपाईंले खोजेर हेर्नुभए पनि हुन्छ।

त्यो बेला मैले के भनेको हुँ भने, ‘कम्युनिष्ट पार्टीमा विभिन्न सिनियर नेताहरु हुनुहुन्छ। नेताहरुको व्यवस्थापन पनि गर्नुपर्छ। तर, नेताहरुको व्यवस्थापन गर्ने नाममा बहुकेन्द्र बनाउने कुरा गलत हुन्छ। बहुकेन्द्र भनेको कुनै केन्द्र होइन, बरु यो अराजकता हो। कम्युनिष्ट पार्टीमा हुुन्जेल म बहुकेन्द्रको पक्षमा रहने छैन।’

प्रधानमन्त्री एउटा, अध्यक्ष अर्काे, संसदीय दलको नेता फेरि अर्काे। यस्तो हुनुहुँदैन भन्ने मेरो मान्यता हो। जसले पार्टीको नेतृत्व गर्छ, उही हुनुपर्छ प्रधानमन्त्री। कतिपय मानिस भन्छन्, फलानो अध्यक्ष, फलानो प्रधानमन्त्री। के अपुङ्गो भाग लगाउने हो?

पार्टी एकता हुँदा तपाईंको अडान पुरा भयो कि भएन?
हामीले दुईटा अध्यक्ष बनाएका छौँ। यो कुरा तपाईंहरु सबैले बुझिरहनु भएको छ। यसमा मैले धेरै के कमेन्ट गरौँ?

द्विअध्यक्षीय प्रणालीबाट पार्टीलाई लाभ भएको छ कि हानी?
फाइदा हुने भएरै राखेको हो। कमिटीको दुईटा अध्यक्ष राख्दा त्यस्तो बेफाइदा देखिएको छैन।

काठमाठौँ–७ मा बामदेब गौतम उठ्ने कुरा आउनासाथ फेसबुकमा लामै स्टाटस लेखेर प्रचण्डलाई प्रहार गर्नुभयो। पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष बनेको तपाईंलाई त्यति धेरै मन नपरेकाले होला, होइन?
त्यो ‘स्टाटस’ अहिले पनि छ, म अहिले पनि देखाउन सक्छु। त्यो बेला मैले कुनै नेताप्रति संकेत गरेको होइन। मलाई के लागेको हो भने, हिजो एमाले पार्टी निर्माण गर्दा सुरुवातदेखि नै म जिम्मेवारी लिएर अघि बढेको हुँ। त्यो जिम्मेवारी लिएर अघि बढाउने सिलसिलामा अनेकखालका प्रतिकूलता नजिकबाट देखेको छु। त्यो बेला मेरो सबै ‘फ्ल्यासब्याक रिकल’ भएको हो, हामीले यस्तो ग¥यौँ, यस्तो ग¥यौँ, यसरी पार्टी बनाइयो। आदि आदि।

‘अहिले त झन् दुईटा पार्टी एक भएको छ। हिजोका राम्रा कुराहरुलाई निरन्तरता दिएरमात्रै सुदृढ हुनसक्छ’ भनेको छु मैले त्यसमा। कसैलाई ‘यो मलाई भनेको हो कि’ भन्ने लागेको हुनसक्छ। मैले कसैलाई किन भन्ने त्यस्तो?

माले बनाउने क्रममा सुरुमा नै सीपी मैनाली, माधव नेपाल जेल पर्नुभयो। झलनाथ खनाल इलाममा हुनुहुन्थ्यो। उहाँलाई सम्पर्क गर्न जाने मान्छे म हुँ। उहाँलाई ल्याएर को–अर्डिनेसन केन्द्र बनाउन जोरजाम गरिदिने मान्छे पनि म नै हुँ।

सीपी मैनालीजीहरु जेल तोडेर निस्कनुभयो। ‘नेताहरुको सुरक्षाका लागि बाहिर (भारत) तिर पो गएर बस्नु पर्छ कि’ भन्ने छलफल भयो। तर हामीले मानेनौँ। ‘हामी प्रजातन्त्रका लागि लडेका छौँ, तपाईंहरुबाट सहयोग पुग्छ कि’ भनेर भारतीयकहाँ भन्न गएनौँ। हाम्रा कोहीपनि नेताहरु छिमेकी देश जान चाहनुभएन। नेताहरुको सुरक्षाका नाममा हामीले त्यस्तो केही गरेनौँ।

प्रतिक्रिया दिनुहोस्