
स्थानीयवासीको अवरोधका कारण पर्साको बागेश्वरी तित्रैनास्थित तिलावे अर्गना सिँचाइ आयोजनाको निर्माण कार्य हालसम्म शुरु हुन सकेको छैन । जलस्रोत तथा विकास डिभिजन कार्यालय वीरगञ्ज पर्साले जनाए अनुसार संघीय सरकार मार्फत कुवेत सरकारको १२ करोड ३७ लाख १९ हजार ४३५ आर्थिक सहयोगमा निर्माण हुने सो आयोजनाको काम हालसम्म अगाडि बढ्न सकेको छैन ।
दुई बर्ष भित्र सम्पन्न हुने गरी २०७४ चैत २६ गते सम्झौता भएको आयोजना निर्माणको जिम्मा मकवानपुरका ठेकेदार मृत सञ्जीवनी निर्माण सेवाले पाएको पनि स्थानीय एकटाँगावासीको विरोधका कारण सो काम अगाडि बढ्न नसकेको हो ।
सन् २०२० सम्म उक्त आयोजना सम्पन्न गर्नेगरी कुवेत सरकारले संघीय सरकारसँग सम्झौता गरेको थियो । पर्सागढी नगरपालिका वडा नं ९ एकटाँगाका स्थानीयवासीले उक्त आयोजना निर्माण भएमा गाउँ नै डुबानमा पर्ने, हेडवर्कको काम नम्बरी जग्गामा बनाउन लागेको भनेर अदालतमा मुद्दा दर्ता गरेका थिए ।
एक टाँगावासीले आयोजना रोक्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्सागढी तथा बहुदरमाई नगरपालिका, सिँचाइ विकास डिभिजन कार्यालय, उपभोक्ता समिति, स्थानीय प्रहरीलाई विपक्षी बनाई शुरुमा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि काम रोकिन गएको हो ।
जिल्ला अदालतले सो मुद्दा खारेज गरेपछि हाल उक्त मुद्दा उच्च अदालत वीरगञ्जमा विचाराधीन अवस्थामा रहेको छ । संघीय सरकारले स्थानीय निकायमा विकासका लागि बजेट दिए पनि केही व्यक्तिले आफ्नो निजी स्वार्थका कारण आयोजना रोक्नु विकासको बाधक भएको स्थानीयवासीको मत छ ।