
दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल) ले तयारी गर्न समय मागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बिहिबार बिहान ९ बज तय भएकोे बैठक तयारीकै लागि भन्दै दिउँसो १२ बजेसम्म सारि पनि दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित भएको हो ।
यसअघि बुधबारको छलफलमा बिहिबार जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो । नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो ।
एउटै नेतालाई दोहोरो जिम्मेवारी दिने या नदिनेबारे दुई पक्षले अडान नछोडेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको कार्य विभाजन बहस लम्बिएको हो । ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन भन्दै तीन दिनदेखि बसिरहेको सचिवालय बैठक दोहोरो जिम्मेवारीकै मापदण्डको वरिपरि घुमिरहेको छ ।
नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारी दिँदा फरक नपर्ने पक्षमा छन् भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एउटै नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान छ ।