
एक जना चिनियाँ महिलाको हत्यापछि चीनले हुम्लाका स्थानीयलाई चीन प्रवेशमा कडाइ गरेको छ । हुम्लाबाट तिब्बतको ताक्लाकोट गएका नेपाली कामदारमाथि चिनियाँ प्रहरीले धरपकड गरी फिर्ता पठाइदिएको छ ।
प्राप्त जानकारी अनुसार जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तिर्थ खडेरालाई चिनियाँ महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो । खडेराले बैंक जान लागेकी महिलालाई रडले हानेर मारेको तथा उनलाई थप अनुसन्धानका लागि ल्हासा लैजाँदै गरेको बताएको थियो । तीन सातामा अन्य पाँच सय नेपाली फिर्ता पठाइएको छ । खडेराको पछिल्लो अबस्थाबारे जानकारी छैन ।
चीनसँगको मैत्री सन्धीअनुसार सिमानादेखि ३० किलोमिटरसम्म दुबै देशका नागरिक पासका आधारमा आउजाउ गर्न सक्छन् । सोही पासको सदुपयोग गर्दै हुम्लावासी हरेक वर्ष ताक्लाकोटमा काम र व्यापार गर्न जान्छन् ।
जेठदेखि असोजसम्म मानसरोवर जाने सिजन हुन्छ । त्यो बेला ताक्लाकोटमा काम पाइन्छ । भवन निर्माणदेखि होटल पसलमा काम गर्न र व्यापार गर्न वर्षेनी ५–७ हजार नेपाली ताक्लाकोट जान्छन् ।
यता परराष्ट्र मन्त्रालयले ताक्लाकोटमा देखिएको समस्या समाधानका लागि कूटनीतिक माध्यमबाट कुरा भइरहेको जनाएको छ।