
हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संखुवासभाका शेर्पाले १३ जेठका दिन ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरेका हुन् ।
पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको प्रतिक्रिया दिए ।
उनले १३ जेठका दिन बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकिङले उल्लेख गरेको छ ।
सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका शेर्पाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढन सरकारलाई पनि सुझाव दिए ।
संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसकेका छन् । त्यसैगरी उनले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धवलागिरी हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।