Logo
०६ बैसाख २०७८
(Monday 19th April 2021)

एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा मंगलबारदेखि बहस




टेलिकम्युनिकेसन कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ ।

न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो । यसअघि २४ वैशाखमा न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले अर्को आदेश नभएसम्मका लागि एनसेलबाट कर नउठाउन भनेको थियो । यो रिटलाई टुंगो लगाउन २१ जेठमा पूर्ण इजलासमा पेशी तोक्न पनि उक्त इजलासको आदेशमा उल्लेख थियो ।
सर्वोच्चले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको करबापत एनसेलले नै तिर्नुपर्ने भनेपछि ठूला करदाता कार्यालयले ६० अर्ब ७१ करोड कर निर्धारण गरेको थिया े।
एनसेलले पहिले पनि केही रकम तिरिसकेको र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठूला करदाता कार्यालयले ठहर गरेको थियो ।
एनसेलले आफूले त्यति धेरै कर तिर्नु नपर्ने दाबी गर्दै फेरि सर्वोच्चमा रिट दिएको हो ।
आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको जिकिर छ ।
फैसलाले ब्याज र विलम्ब शुल्क तिर्नुपर्ने फैसला नगरेकाले १४ अर्ब ३६ करोडमात्रै तिरे पुग्ने एनसेलले जिकिर गरेको छ । त्यतिमात्रै कर निर्धारण गर्न आदेश माग्दै एनसेल सर्वोच्च गएको हो ।
एनसेलकै अनुसार टेलिया सोनेराले एक्जियटालाई १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख छ हजारमा एनसेल बेचिएको हो । टेलियाले १ अर्ब १२ करोड ८८ लाखमा एनसेल लिएको थियो । यो लागत मूल्य उसले बेचेको मूल्यमा घटाउँदा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार हुन्छ । यो रकम एनसेलबाट टेलियालाई भएको पुँजीगत लाभ अर्थात नाफा हो । एनसेल बेच्दा त्यसको पच्चीस प्रतिशत कर उसले सरकारलाई तिर्नुपर्थ्यो। त्यो पच्चीस प्रतिशत भनेको ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार पाँच सय रूपैयाँ भऐको एनसेलको दाबी छ ।
त्यसमध्ये आफूले २०७३ वैशाख २६ गते ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार र २०७४ जेठ २१ गते ११ अर्ब ५७ करोड ८४ लाख ८४ हजार ८ सय ६० गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार नौ सय (१५५ ) भुक्तानी गरिसकेकोले अब दश प्रतिशत मात्रै बुझाउनुपर्ने एनसेलको दावी छ ।

प्रतिक्रिया दिनुहोस्