राजपा नेता यादवले भने, ‘यो देशको प्रधानमन्त्रीको आयु त दलालले तोक्छ’
काठमाडौं । राजपाका एक जना प्रभावशाली नेता राजकिशोर यादवले नेपालको प्रधानमन्त्री र अर्थमन्त्रीसम्म दलालहरुले बनाउने गरेको गंभिर आरोप लगाएका छन्।
सरकारले जनताका लागि पुँजी प्रवाह गर्दा सिमित दलालले लाभ लिँदै आएको र त्यो वर्ग बलियो बनेको बन्दै गएको उनले जिकिर गरे। संसदमा बोल्दै उनले भने, ‘पुँजी प्रवाह गर्दा दलाल वर्ग निर्माण भएको छ। को अर्थमन्त्री बन्छ ? सरकारको आयु कति हो ? को प्रधानमन्त्री बन्छ ? भन्ने त्यो वर्गले निर्धारण गर्छ।’
त्यो दलाल समुहमा केही नाम चलेको उद्योगी, व्यवसायी, कर्मचारी, ठकेदार रहेको उनको भनाई छ ।
अर्को ‘गाउँको भगुवा’ वर्ग र उसले नेताप्रति घृणा पैदा गर्ने काम गरिरहेको यादवको टिप्पणी छ। गाउँबाट भागेर काठमाडौं र काठमाण्डौंबाट भागेर विदेश पुगेका सो जमातले सामाजिक सञ्जालमा आफूहरुलाई ‘अपराधी’ करार गर्न खोजिरहेको समेत उनले बताए ।
त्यो नेपाली समाजको चरित्र र मनोविज्ञानको छायाँ रहेको बताउँदै त्यस विषयमा सवैले बोल्नुपर्ने उनको भनाइ थियो। उनले भने, यहाँ ‘गाउँबाट भागेर काठमाडौं आएका अर्को एउटा जमात छ। जो आफूलाई विद्वान् भन्छ। उनीहरु दिनहुँ राजनीतिक ज्ञान बाँडिरहेका हुन्छन्। हामीलाई क्रिमिनल भनिरहेका हुन्छन्। किनभने हामीले नेपाली समाजको चरित्र र मनोविज्ञानका बारेमा बोल्न सकेनौं।’
वर्तमान दुई तिहाइ सरकारले दलाल र यस्ता मनोविज्ञान समाप्त पार्न नयाँ नीति लिनुपर्ने उनले बताए।