Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

सचिवालय बैठक अघि गृहकार्यका लागि शिर्ष नेताको बैठक




पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन् । बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी छ ।
बैठकमा नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी छन् । एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा नेकपाले विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन ।
संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुले दाबी गरिरहेका छन् । विशेष गरी संगठन विभागका लागि सचिवालयका सदस्यहरू नै आकांक्षी भएपछि भागबन्डा मिलाउन नेतृत्वलाई कठिन भएको हो । बैठकमै सहभागी विष्णु पौडेल र माधवकुमार नेपाल पनि संगठन विभागको जिम्मा लिन चाहन्छन् ।
गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो । जारी छलफलमा चार नेताबीच मोटामोटी सहमति भएमात्रै दिउँसो सचिवालय बैठक बस्ने स्रोतको भनाइ छ । यसअघि सोमबारका लागि बोलाइएको सचिवालय बैठक पनि नेताहरूबीच नै सहमति जुट्न नसके पछि मंगलबारका लागि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्